भारी वर्षाबाट सतर्क रहन नगर प्रमुख लामाको आग्रह

पालिका डायरी
७ आश्विन २०८३, ०७:४७

हेटौंडा उपमहानगरपालिकाकी नगर प्रमुख मीनाकुमारी लामाले भारी वर्षाबाट हुन सक्ने सम्भावित जोखिमप्रति सतर्क रहन नगरवासीलाई आग्रह गरेकी छन्।

बुधबार शुभकामना सन्देश जारी गर्दै नगर प्रमुख लामाले मौसम पूर्वानुमान महाशाखाका विज्ञहरूले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएकाले बाढी, पहिरो, गेग्रान बहाव तथा भूक्षयको जोखिम बढ्न सक्ने बताएकी छन्।

मकवानपुरका विभिन्न स्थानमा बाढी तथा पहिरोको जोखिम रहेको भन्दै उनले हेटौंडाका जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई विशेष सावधानी अपनाउन आग्रह गरेकी छन्।

भारी वर्षाका बेला जोखिमयुक्त क्षेत्रमा अनावश्यक आवतजावत नगर्न तथा सम्भावित विपद्बाट जोगिन समयमै सतर्कता अपनाउन उनले आग्रह गरेकी छन्। नगर प्रमुख लामाले बालबालिका तथा वृद्धवृद्धालाई विशेष रूपमा सचेत गराउँदै सुरक्षित राख्नसमेत नगरवासीलाई अनुरोध गरेकी छन्।

‘वर्षाबाट हुने जोखिमबाट सचेत रहौँ, बालबालिका अनि वृद्धवृद्धालाई सचेत गराउने गरौँ, संरक्षण गरौँ,’ नगर प्रमुख लामाले सन्देशमा भनेकी छन्।

उनले आफू पनि सचेत रहने र आसपासका नागरिकलाई पनि सचेत गराउँदै भारी वर्षाबाट हुन सक्ने सम्भावित क्षति न्यूनीकरणमा सहयोग गर्न आग्रह गरेकी छन्।

प्रतिक्रिया