विरोध र आलोचनाबीच हेटौँडा–४ मा विकासको रफ्तार, जवाफ कामले दिइन्छ : अध्यक्ष सिग्देल

राम कुमार दानी
६ आश्विन २०८३, २०:५७
वडा अध्यक्ष सिग्देलकाे एक बर्ष अगाडि बोलेका सबै काम पूरा भएको दावी

हेटौँडा /  हेटौँडा उपमहानगरपालिका–४ का वडा अध्यक्ष नवीन सिग्देलले विकास निर्माणका सवालमा भाषणभन्दा काम र त्यसको परिणामलाई प्राथमिकता दिएको बताएका छन्। सिग्देलले आफूहरू विकासका काममा संकल्पित र प्रतिबद्ध रहेको उल्लेख गर्दै आफूहरू बोलिरहेका मात्र नभई तस्वीर आफैँ बोलिरहेको बताएका छन्। उनले वडामा भइरहेका विकास निर्माणका कामलाई त्यसको उदाहरणका रूपमा प्रस्तुत गरेका हुन्।

लोकतान्त्रिक चौर (हुप्रा) मा निर्माण गरिएको ज्येष्ठ नागरिक कक्षलाई उनले कामको एउटा उदाहरणका रूपमा उल्लेख गरेका छन्। निर्माणका क्रममा विभिन्न विरोध र आलोचना भए पनि अहिले उक्त संरचना ज्येष्ठ नागरिक तथा विभिन्न कार्यक्रमका लागि प्रयोग भइरहेको सिग्देलको भनाइ छ।

त्यस्तै, भैरवरोड क्षेत्रमा वर्षायाममा हुने डुबानको समस्या समाधान गर्न ढल व्यवस्थापनको काम अघि बढाइएको उनले जानकारी गराएका छन्। भैरवरोड–चिसापानी क्षेत्रमा गरिएको अध्ययनका क्रममा ढलको चेम्बर भत्किएको, आसपासका संरचना तथा खाल्डाखुल्डीका कारण पानी निकासमा अवरोध देखिएको र त्यसलाई समाधान गर्न आवश्यक प्रक्रिया पूरा गरी मर्मतको काम सुरु गरिएको उनले बताएका छन्।

निरन्तर वर्षा, बजार क्षेत्रको ढल, ढलको गहिराइ तथा आसपासका संरचनाका कारण काम चुनौतीपूर्ण भए पनि निर्माण कार्यलाई तीव्रता दिइएको सिग्देल बताउँछन्। यसैगरी, हुप्रास्थित पानी ट्याङ्कीबाट पशुपति जाने सडकमा पानी जम्ने समस्या समाधानका लागि सडक स्तरीकरणको काम अघि बढाउने उनले बताएका छन्। सडक स्तरीकरणसँगै वर्षाको पानीका कारण हुने डुबान तथा आवागमनमा देखिने समस्यालाई न्यूनीकरण गर्ने लक्ष्य रहेको उनको भनाइ छ।

सिग्देलले विकास निर्माणका क्रममा आउने आलोचना र विरोधलाई सकारात्मक रूपमा लिएर आवश्यक सुधार गर्दै अघि बढ्ने बताएका छन्। राजनीतिक मतभेद वा आलोचनाभन्दा विकास र त्यसबाट प्राप्त हुने परिणाम महत्वपूर्ण हुने उनी बताउँछन्। ‘कामले लखेट्ने होइन, कामको नतिजाले जवाफ दिने हो’ भन्ने भाष्यसहित उनले विकास निर्माणको परिणामबाटै आलोचनाको जवाफ दिने बताएका छन्।

विगतका कठिन परिस्थितिको स्मरण गर्दै अध्यक्ष सिग्देलले आफूहरू विपरीत परिस्थितिमा समेत जनताको काममा निरन्तर जुटिरहेको बताएका छन्। ‘हामी हाम्रा घर, पालिका, वडा र स्वास्थ्य केन्द्र जल्दा पनि खरानीमाथि उठेर काममा जुटेका हौँ,’ उनले भनेका छन्।

विकास साझा विषय भएको उल्लेख गर्दै उनले आलोचना र राजनीतिक मतभेदभन्दा माथि उठेर परिणाममुखी काममा सबैको सहयोग आवश्यक रहेको बताएका छन्। हेटौँडा–४ मा भइरहेका विभिन्न विकास निर्माणका कामलाई ‘तस्वीर आफैँ बोल्छ’ भन्ने सन्देशसँग जोड्दै वडा अध्यक्ष सिग्देलले आफ्नो कार्यशैलीलाई काम र परिणाममा केन्द्रित गर्न खोजेको बताएका छन्।

प्रतिक्रिया