मानव सेवा कोषको २९ औँ वार्षिक साधारण सभा सम्पन्न
हेटौंडा / मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११, नवलपुरस्थित मानव सेवा कोषको २९ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
वि.सं. २०५५ सालमा स्थापना भएको मानव सेवा कोषले समुदायमा दुःख तथा पीडामा परेका र परिवारका सदस्य गुमाएका व्यक्तिहरूलाई सदस्यहरूको आपसी सहयोगमार्फत आवश्यक सहायता उपलब्ध गराउँदै आएको छ । कोषका सचिव भगवान ढकालले प्रस्तुत गरेको प्रतिवेदन अनुसार हाल संस्थामा ८४ जना सदस्य रहेका छन् । स्थापना कालदेखि हालसम्म संस्थाले आफ्ना ७२ जना सदस्य गुमाइसकेको प्रतिवेदनमा उल्लेख छ ।
संस्थाले सदस्यको परिवारमा मृत्यु हुँदा सम्बन्धित परिवारको संस्कारअनुसार काजकिरियाका लागि आवश्यक विभिन्न सामग्री उपलब्ध गराउँदै आएको जनाएको छ । नेपाली सेनामा आबद्ध मिलन घलेको विशेष पहलमा अन्य व्यक्तिहरूबाट समेत संस्थालाई उल्लेखनीय सहयोग प्राप्त हुँदै आएको जनाइएको छ ।
कार्यक्रममा प्रमुख अतिथि वडा अध्यक्ष जुना दाहालले मनव सेवा कोषले समुदायमा वडास्तरबाट प्रदान गरिने महत्वपूर्ण सामाजिक सेवा, योगदान गर्दै आएको बताएकी छिन् । उनले संस्थालाई आवश्यक पर्दा वडा कार्यालय सधैँ साथ र सहयोगका लागि तयार रहेको प्रतिबद्धता समेत व्यक्त गरिन । अध्यक्ष दाहालले संस्थाका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूको योगदानप्रति धन्यवाद व्यक्त गर्दै मनव सेवा कोष हेटौंडाकै नमुना सामाजिक संस्थामध्ये एक रहेको बताएकी छिन् ।
हालैको रसुवा बाढीको प्रसङ्ग उल्लेख गर्दै दाहालले जीवन अनिश्चित रहेको बताउँदै विपद् तथा दुःखका समयमा एकअर्काप्रति सहयोग, सद्भाव र मानवीय सेवाको भावना लिएर सधैँ अग्रसर हुन सबैलाई आग्रह गरिन ।
सभामा संस्थाको विगतदेखि हालसम्मका गतिविधि, सदस्यहरूको योगदान तथा आगामी दिनमा मानव सेवाका क्षेत्रमा अझ प्रभावकारी रूपमा काम गर्ने विषयमा समेत छलफल गरिएको थियो।
कोषका अध्यक्ष रामहरि कार्कीको अध्यक्षता तथा हेटौंडा उपमहानगरपालिका–११ की वडा अध्यक्ष जुना दाहाल प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न । कार्यक्रममा मिलन घलेलगायत कोषका पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको थियो।


