एक हप्ताभित्र भीमफेदी–कोगटे–इपा–सिस्नेरी सडक सञ्चालनमा ल्याइने, अध्यक्ष हिदम लामाको पहलमा मर्मत कार्य सुरु
हेटौंडा / भीमफेदी–कोगटे–इपा–सिस्नेरी सडकखण्ड एक हप्ताभित्र यातायात सञ्चालन हुने गरी मर्मत कार्य सुरु गरिएको छ।
बागमती प्रदेश सरकारका मुख्यमन्त्री किरण थापा मगर, भौतिक पूर्वाधार मन्त्री भरत केसी, भौतिक पूर्वाधार मन्त्रालयका सचिव, पूर्वाधार निर्देशनालयका निर्देशक तथा पूर्वाधार विकास कार्यालय मकवानपुरका प्रमुखसहित भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाको अग्रसरता र समन्वयमा बिहीबार भीमफेदी–कोगटे हुँदै इपा देउरालीसम्मको सडकखण्डको स्थलगत अनुगमन गरिएको हो।
अनुगमनलगत्तै उक्त सडकको मर्मत कार्य औपचारिक रूपमा सुरु गरिएको अध्यक्ष लामाले जानकारी दिएका छन्। मुख्यमन्त्री थापा मगरको निर्देशनमा चारवटा एक्साभेटर, दुईवटा लोडर तथा आवश्यक अन्य उपकरण परिचालन गरी भीमफेदी र सिस्नेरीतर्फ दुवै दिशाबाट एकैसाथ मर्मत कार्य सुरु गरिएको अध्यक्ष लामाले जानकारी दिए।
तीव्र गतिमा काम अघि बढाइएकाले बढीमा एक हप्ताभित्र उक्त सडकखण्डमा यातायात सञ्चालन गर्न सकिने अपेक्षा गरिएको लामाले बताए।
सडक सञ्चालनमा आएपछि भीमफेदी–देउराली–कुलेखानी सडकखण्डमा बढ्दो सवारी चापका कारण हुने लामो जाम कम हुने तथा काठमाडौं आवतजावतका लागि यात्रुहरूलाई वैकल्पिक मार्गसमेत उपलब्ध हुने अपेक्षा गरिएको छ।
स्थानीयस्तरमा लामो समयदेखि महत्वपूर्ण वैकल्पिक सडकका रूपमा रहेको भीमफेदी–कोगटे–इपा–सिस्नेरी सडक सुचारु गर्न अध्यक्ष हिदम लामाले निरन्तर प्रदेश सरकार तथा सम्बन्धित निकायसँग पहल र समन्वय गर्दै आएका थिए।


