भैरवरोडको डुबान समस्या समाधानमा वडा अध्यक्ष सिग्देलको अग्रसरता

पालिका डायरी
१७ भाद्र २०८३, २१:१५

हेटौँडा /  हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ को भैरवरोड क्षेत्रमा वर्षायाममा दोहोरिँदै आएको डुबानको समस्या समाधानका लागि वडा अध्यक्ष नवीन सिग्देलको अग्रसरतामा मर्मत तथा निर्माण कार्य अघि बढाइएको छ।

बजार क्षेत्रका अधिकांश सडक कङ्क्रिट बन्दै जाँदा वर्षाको पानी भैरवरोडतर्फ बग्ने क्रम बढेको छ। त्यसमाथि २०६६/०६७ सालतिर निर्माण गरिएको भूमिगत ढल विभिन्न स्थानमा भासिँदै र अवरुद्ध हुँदै जाँदा पानीको निकासमा गम्भीर समस्या उत्पन्न भएको छ।

वडा अध्यक्ष सिग्देलको पहलमा प्राविधिक टोलीसहित गरिएको अध्ययनका क्रममा चिसापानी चोकको ढल च्याम्बर नै भासिएको पाइएको थियो। यसका कारण हेटौँडा उपमहानगरपालिका वडा नम्बर २, ४ र ५ क्षेत्रबाट आउने पानीको मुख्य निकास अवरुद्ध भएको जनाइएको छ।

समस्या समाधानका लागि चिसापानी चोकमा कङ्क्रिट ढलान फोरेर ढल मर्मत तथा पुनर्निर्माण कार्य सुरु गरिएको छ। तर, निरन्तर वर्षा र ढलबाट आउने पानीका कारण कामलाई अपेक्षित गतिमा अघि बढाउन कठिनाइ भइरहेको छ।

वडा अध्यक्ष सिग्देलले भैरवरोडको डुबान समस्या समाधानका लागि प्रयास निरन्तर जारी रहने बताएका छन्। पुरानो भूमिगत ढल प्रणालीबाट उत्पन्न समस्याको दीर्घकालीन समाधानका लागि हेटौँडा उपमहानगरपालिकाले विज्ञ तथा प्राविधिकको सहयोगमा विशेष योजना बनाउनुपर्ने आवश्यकता समेत देखिएको छ।

प्रतिक्रिया