कैलाशमा किशोरी सुत्केरी र होम डेलिभरी न्यूनीकरणमा जोड : अध्यक्ष मुक्तान

पालिका डायरी
१७ भाद्र २०८३, १६:४८
कैलाशमा किशोरी सुत्केरी र होम डेलिभरी न्यूनीकरणमा जोड : अध्यक्ष मुक्तान

मकवानपुरको कैलाश गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ को पालिकास्तरीय दुईदिने स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा सम्पन्न भएको छ।

कार्यक्रममा गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा सञ्चालन गरेका कार्यक्रम, उपलब्धि, चुनौती तथा आगामी कार्ययोजनाबारे समीक्षा गर्दै स्वास्थ्य सेवाको पहुँच र गुणस्तरलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाइएको छ।

गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले कैलाशको स्वास्थ्य क्षेत्रमा देखिएको प्रमुख चुनौतीमध्ये २० वर्षमुनिका सुत्केरी आमाको संख्या रहेको बताए।

गाउँपालिका, समुदाय, विद्यालय तथा विभिन्न सामाजिक संघसंस्थाको निरन्तर प्रयास हुँदाहुँदै पनि २० वर्षमुनिका सुत्केरीको तथ्यांक अपेक्षाकृत रूपमा राम्रो हुन नसकेको उनले बताए।

“२० वर्षमुनिका किशोरी सुत्केरी हुने अवस्थालाई अन्त्य गर्न सबै पक्षको साझा प्रयास आवश्यक छ। यसका लागि विद्यालयदेखि समुदायसम्म सचेतना अभियानलाई अझ प्रभावकारी बनाउनुपर्छ,” अध्यक्ष मुक्तानले भने।

गाउँपालिकाले होम डेलिभरीलाई शून्यमा झार्ने लक्ष्यसहित काम गरिरहेको छ। कैलाश–९ लाई शून्य होम डेलिभरी भएको वडा घोषणा गर्ने अन्तिम चरणमा पुगेको बताउँदै अध्यक्ष मुक्तानले अन्य वडालाई समेत क्रमशः शून्य होम डेलिभरीतर्फ लैजाने योजना रहेको बताए।

भौगोलिक रूपमा विकट गाउँपालिकामा सबै स्वास्थ्य संस्थामा तत्कालै बर्थिङ सेन्टर सञ्चालन गर्न कठिनाइ रहेको छ। यातायातको असहजता, दुर्गम बस्ती तथा आवश्यक जनशक्ति र पूर्वाधार व्यवस्थापनका चुनौतीका बाबजुद स्वास्थ्यकर्मीको निरन्तर प्रयासले स्वास्थ्य सेवामा उल्लेख्य सुधार भइरहेको मुक्तानले बताए।

“विकटता हाम्रो चुनौती हो, तर यही चुनौतीका बीच स्वास्थ्यकर्मीहरूले देखाउनुभएको मेहनत र इमान्दारिताले कैलाशको स्वास्थ्य क्षेत्रमा सकारात्मक परिणाम ल्याएको छ,” अध्यक्ष मुक्तानले भने।

कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष बालकुमार मल्लले वार्षिक समीक्षाले वर्षभरि गरिएका कामको मूल्यांकनसँगै अनुभव आदानप्रदान गर्ने अवसर प्रदान गरेको बताए। उनले आगामी दिनमा स्वास्थ्यका कार्यक्रमलाई थप व्यवस्थित र प्रभावकारी ढंगले सञ्चालन गर्नुपर्नेमा जोड दिए।

विशेषगरी रिपोर्टिङको पाटोलाई अझ व्यवस्थित बनाउनुपर्ने आवश्यकता औँल्याउँदै उनले तथ्यांकलाई यथार्थपरक र विश्वसनीय बनाउन स्वास्थ्यकर्मीले विशेष ध्यान दिनुपर्ने बताए।

स्वास्थ्य क्षेत्रमा प्रत्यक्ष रूपमा खटिएर सेवा प्रदान गर्ने स्वास्थ्यकर्मीहरूको योगदान अमूल्य रहेको भन्दै उपाध्यक्ष मल्लले स्वास्थ्यकर्मीको मेहनत र समर्पणकै कारण गाउँपालिकाका दुर्गम बस्तीमा समेत स्वास्थ्य सेवा पुगिरहेको उल्लेख गरे।

जनस्वास्थ्य कार्यालय मकवानपुरका कोल्डचेन निरीक्षक मनीर आलम अन्सारीको उपस्थितिमा भएको कार्यक्रममा स्वास्थ्य संस्थाहरूले वर्षभरि गरेका काम, सेवा प्रवाह, स्वास्थ्य सूचक, मातृ तथा बाल स्वास्थ्य, परिवार नियोजन, खोप, पोषण, सुरक्षित मातृत्व तथा समुदायस्तरका स्वास्थ्य कार्यक्रमका उपलब्धि र चुनौतीबारे छलफल गरिएको थियो।

कार्यक्रममा आगामी वर्ष स्वास्थ्य सेवाको पहुँच विस्तारसँगै मातृ तथा नवजात शिशु स्वास्थ्यलाई प्राथमिकता दिने, किशोरी गर्भधारण न्यूनीकरण गर्ने, संस्थागत प्रसूति बढाउने, होम डेलिभरी पूर्ण रूपमा अन्त्य गर्ने तथा स्वास्थ्यसम्बन्धी तथ्यांक र रिपोर्टिङ प्रणालीलाई थप विश्वसनीय बनाउने विषयमा जोड दिइएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख तिलकप्रसाद गौतमले बताए।

भौगोलिक विकटतालाई चुनौतीका रूपमा स्वीकार गर्दै स्थानीय स्वास्थ्य संस्थाको क्षमता अभिवृद्धि, स्वास्थ्यकर्मीको प्रोत्साहन तथा समुदायको सक्रिय सहभागितामार्फत स्वास्थ्य सेवा थप प्रभावकारी बनाउने निष्कर्षसहित समीक्षा कार्यक्रम सम्पन्न भएको उनले बताए।

कैलाशमा संस्थागत रूपमा सुत्केरी गराउने क्रम बढ्दै गए पनि घरमै सुत्केरी गराउने प्रवृत्ति अझै चुनौतीका रूपमा देखिएको शाखा प्रमुख गौतमले बताए। उनका अनुसार स्वास्थ्य संस्थामा १६२ जना सुत्केरी भएका छन् भने ७२ जनाले घरमै (होम डेलिभरी) सुत्केरी गराएका छन्।

सुरक्षित मातृत्वका लागि स्वास्थ्य संस्थामै सुत्केरी गराउने वातावरण निर्माण तथा घरमै सुत्केरी हुने अवस्थालाई न्यूनीकरण गर्न थप जनचेतना र स्वास्थ्य सेवाको पहुँच विस्तार आवश्यक रहेको उनले बताए।

यस अवधिमा नवजात शिशुको मृत्यु एक जनाको भएको तथ्यांकमा उल्लेख छ। त्यस्तै, २० वर्षमुनिका सुत्केरी आमाको संख्या १११ जना रहेको छ।

कम उमेरमा हुने विवाह तथा गर्भधारणका कारण किशोरी अवस्थामै मातृत्वको जिम्मेवारीमा पुग्ने अवस्था अझै विद्यमान रहेको तथ्यांकमा उल्लेख छ।

प्रतिक्रिया