कैलाशमा ‘न्वागी पर्व’ मा दुई दिन सार्वजनिक बिदा
मकवानपुरको कैलाश गाउँपालिकाले चेपाङ समुदायको महत्वपूर्ण सांस्कृतिक पर्व न्वागी पर्वका अवसरमा गाउँपालिकाभित्रका सम्पूर्ण सरकारी कार्यालय तथा शिक्षण संस्था दुई दिन सार्वजनिक बिदा दिएकाे छ ।
गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले शुभकामना सन्देश जारी गर्दै भदौ २२ र २३ गते गाउँपालिका क्षेत्रभित्रका सम्पूर्ण सरकारी कार्यालय एवं शिक्षण संस्था बन्द रहने जानकारी दिएका हुन् ।
चेपाङ समुदायले परम्परागत रूपमा मनाउँदै आएको न्वागी पर्व प्रकृति पूजा, सांस्कृतिक पहिचान र सामुदायिक एकताको पर्वका रूपमा लिइन्छ। यस पर्वले चेपाङ समुदायको मौलिक संस्कृति, परम्परा र पहिचान संरक्षणमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको अध्यक्ष मुक्तानले बताए ।
उनले पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण चेपाङ समुदाय तथा कैलाशवासीमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दै विविध सांस्कृतिक पहिचान बोकेका पर्वहरूले समुदायबीच आपसी सद्भाव, सहिष्णुता, एकता र भाइचारा कायम गर्न महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ।
शुभकामना सन्देशमा प्राकृतिक विपत्तिका कारण प्रभावित नागरिकप्रति सहानुभूति र समवेदना व्यक्त गर्दै पर्वलाई विगतझैँ भव्य तथा उल्लासमय रूपमा मनाउन नसकिए पनि विपद्को अवस्थालाई ध्यानमा राखी तडकभडक तथा मनोरञ्जनात्मक कार्यक्रम नगर्न आग्रह गरेका छन् ।
गाउँपालिकाले न्वागी पर्वका अवसरमा परम्परागत रूपमा गरिने प्रकृति तथा पूर्वज पूजा, विभिन्न सांस्कृतिक गतिविधि र पारिवारिक जमघटलाई मर्यादित रूपमा निरन्तरता दिँदै आपसी सद्भाव, एकता र सामाजिक एकता कायम गर्न आग्रह गरेका छन् ।


