वडामै विशेषज्ञ डाक्टरसहित स्वास्थ्य सेवा, स्थानीय दंग
मकवानपुरको हेटौँडा उपमहानगरपालिका–९ नम्बर वडाका नागरिकले वडामै विभिन्न स्वास्थ्य सेवा प्राप्त गर्दै आएका छन् । वडामा रहेको लामसुरे शहरी स्वास्थ्य केन्द्रले दैनिक ल्याबसहितको स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको छ ।
स्वास्थ्य केन्द्रले महिनामा तीन दिन विशेषज्ञ चिकित्सकमार्फत स्वास्थ्य परीक्षण तथा उपचार सेवा पनि प्रदान गर्दै आएको छ । वडाबासीको सहजताका लागि प्रत्येक महिनाको १५ र ३० गते विशेषज्ञ फिजिसियन डाक्टरमार्फत ओपीडी सेवा सञ्चालन हुँदै आएको स्वास्थ्य केन्द्रले जनाएको छ यससँगै वडाले प्रत्येक महिनाको एकपटक महिलाको स्वास्थ्य परीक्षण तथा परामर्शका लागि विशेष स्वास्थ्य सेवा समेत सञ्चालन गर्दै आएको स्वास्थ्य केन्द्र प्रमुख प्रकाश श्रेष्ठले बताए । महिलाको स्वास्थ्यसम्बन्धी समस्या पहिचान, परीक्षण तथा आवश्यक उपचारमा सहज पहुँच पुर्याउने उद्देश्यले यो समेत प्रदान गरिँदै आएको स्वास्थ्य श्रेष्ठले बताए ।
सोहीअनुसार सोमबार (हिजो) स्वास्थ्य केन्द्रमा विशेषज्ञ फिजिसियन डाक्टरमार्फत ओपीडी सेवा सञ्चालन गरिएको छ । वडामै विशेषज्ञ चिकित्सकको सेवा उपलब्ध भएपछि सामान्य स्वास्थ्य समस्या लिएर हेटौँडा बजार तथा अन्य अस्पताल धाउनुपर्ने बाध्यता कम भएको स्थानीयको भनाइ छ ।
लामसुरे शहरी स्वास्थ्य केन्द्रले नियमित स्वास्थ्य परीक्षण, ल्याब सेवा तथा विशेषज्ञ चिकित्सकको परामर्श र उपचार सेवा निरन्तर प्रदान गर्दै आएको छ। वडास्तरमै स्वास्थ्य सेवा विस्तार भएपछि स्थानीय नागरिकलाई सहज र पहुँचयोग्य स्वास्थ्य सेवा उपलब्ध भएको छ। वडाका नागरिकलाई आधारभूतदेखि विशेषज्ञ स्वास्थ्य सेवासम्मको पहुँच पुर्याउन हेटौँडा उपमहानगरपालिका–९ नम्बर वडा कार्यालयले स्वास्थ्य क्षेत्रमा गर्दै आएको लगानी र पहलले महत्वपूर्ण भूमिका खेलेको छ ।
वडा कार्यालयले दीर्घरोगी वडाबासीलाई नियमित औषधि सेवनमा सहजता प्रदान गर्न १० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । वडाभित्र रहेका दीर्घरोगीलाई आवश्यक औषधि नियमित रूपमा उपलब्ध गराउने उद्देश्यले उक्त बजेट छुट्याइएको हो । यो सँगै निशूल्क भिडियो एक्स रे, ल्याब सेवा निशूल्क देखि औषधि समेत निशूल्क उपलब्ध गराइँदै आएको हेटौंडा–९ का वडाध्यक्ष सुकराम केसी बताउँछन् ।



