काममा खटिएकै बेला बाढीसँगै बगे उद्धव, भागेर जोगिए श्रीमती र छोरी
भोटेकोसीमा भदौ १० गते बिहान एक्कासी भिषण बाढी आएसँगै सामाजिक सञ्जालमा भिडिओ पनि छाए। बाढीले क्षति पुर्याएका भिडिओ देखेसँगै हेटौंडामा रहेका उद्धव खड्काका आफन्तले फोन लगाउन थाले। पत्नी र छोरीलाई साथै लिएर चिलिमे हाइड्रोपावरमा काम गर्न गएका उद्धवको फोन नलागेपछि हेटौंडामा रहेका दाइ उत्तम खड्का अत्तालिए।
परिवारका अन्य सदस्यले पनि निरन्तर फोन सम्पर्कमा जुटिरहे। तर, न उद्धवको नम्बरमा फोन लाग्यो न त उनकी पत्नी निरू खड्काको नम्बरमा। भोलिपल्ट भदौ ११ मा हेटौँडा उपमहानगरपालिकाको टोली उनीहरूसहित अन्य सम्पर्कविहीन नागरिक खोज्न रसुवाको लागि निस्कियो। सडक अवरुद्ध भएका कारण रसुवा हिडेको टोली काठमाडौँमा पुगेर अड्कियो।
काठमाडौँका विभिन्न अस्पतालमा राखिएका बिरामीको सूची हेर्दा हेटौँडाको कोही नभेटेपछि भदौ १२ गते बिहानै उद्धार टोली नुवाकोटतर्फ लाग्यो। दिनभर उतै अलमलिए।
रसुवाबाट उद्धार गरिएका व्यक्तिमा हेटौँडाका पनि हुनसक्छन् भनेर हेटौँडाकी मेयर मीनाकुमारी लामासहितको टोलीले नुवाकोट छोडेन। नेपाल प्रहरीले हेलिकप्टरमार्फत उद्धार गरेको सूचीमा दुई जना हेटौंडाका मानिसको नाम भेटियो। एउटा निरू खड्का, अर्को निमिसा खड्का।
उनी निरू हुन्, मकवानपुरको हेटौँडा उपमहानगरपालिका-५ ढुंगेधारा टोलका उद्धव खड्काकी पन्ती। निमिसा उनीहरूकी छोरी हुन्।
केहीबेरको प्रतिक्षापछि निरू र निमिसाको उद्धार गरियो। उनीहरूलाई हेटौँडा ल्याउने प्रबन्ध मिलाइयो। उद्धव पनि कतैबाट उद्धार भएर सुरक्षित ठाउँमा बसेका होलान् भन्ने विश्वास निरूको थियो। तर, कतै केही जानकारी मिलेन।
निरू र निमिसा भेटिएपछि परिवारका सदस्यहरू उद्धवको खोजीमा निस्किए। अस्पतालदेखि विभिन्न स्थानसम्म खोजी गरे। लामो समयसम्म उद्धवको कुनै खबर नआएपछि परिवारमा चिन्ता झन् बढ्दै गयो। अन्ततः भदौ १२ गते नवलपरासीमा उद्धवको शव फेला पर्यो।
दुई वर्षअघि चिलिमे हाइड्रोपावरमा काम गर्न रसुवा पुगेका उद्धवले पत्नी निरू र छोरी निमिसालाई पनि आफूसँगै लगेका थिए। उनी टिपर चलाउथे। हाइड्रोपावर नजिकै कोठा भाडामा लिएर उनले पत्नी र छोरीलाई राखेका थिए। कामको व्यस्तताका कारण भने उद्धव सातामा एक दिन मात्रै परिवारसँग बस्न कोठामा आउने गरेका थिए। हाइड्रोपावरको काममै रहेका बेला उद्धवलाई भोटेकोसीको बाढीले बगायो।
डेरामा रहेका निरू र उनकी छोरी निमिसा भने भागेर ज्यान जोगाउन सफल भए। बजारभरि बाढी आएको हल्ला चल्न थालेपछि अन्य मानिससँगै निरूले छोरीलाई साथमा लिएर भागेकाले बाँच्न सफल भए।
‘उद्धव शनिबार कोठामा आएर आइतबार काममा गएका रहेछन्। छोरीलाई स्कुल पठाउन सहज होस् भनेर स्कुल नजिकै कोठा भाडामा लिएर परिवारलाई राखेका रहेछन्,’ उद्धवबारे जानकारी दिँदै हेटौँडा-५ का वडाध्यक्ष सुशील घिमिरेले नेपालखबरसँग भने, ‘अघिल्लो दिनसम्म पनि फोनमा कुराकानी भइरहेको थियो रे! तर, त्यो दिन बिहान एक्कासि बाढी आयो। बाढीमा परेर उद्धवको मृत्यु भयो। श्रीमती र छोरी भने कोठामै भएकाले भागेर ज्यान जोगाउन सफल भएछन्।’
बाढीले परिवारको साथ त छुटायो नै, उद्धवलाई सधैँका लागि उनीहरूबाट खोस्यो। निरू र निमिसा उद्धार भएर हेटौँडा फर्किए, तर उद्धवको शवसँगै परिवारले अन्ततः उनलाई घर फर्काउनुपर्यो।
वडाध्यक्ष घिमिरेका अनुसार उद्धवको शव शनिबार नवलपरासीबाट घर ल्याएर दाहसंस्कार गरिएको छ। उनका दाइ उत्तम भाइको काजक्रियामा गरिरहेको वडाध्यक्ष घिमिरेले बताए।


