रसुवा बाढीमा ज्यान गुमाएका हेटौँडा–१५ का दुई परिवारलाई वडाले जनही ५० हजार सहयोग गर्ने

पालिका डायरी
१३ भाद्र २०८३, १९:१५
अत्याधिक गर्मिका कारण हेटौंडा १५ को विद्यालयहरु २ दिन बन्द

हेटौँडा /  रसुवामा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका हेटौँडा उपमहानगरपालिका–१५ का सुमन गोले र रमेश मगरका परिवारलाई वडा कार्यालयले तत्काल आर्थिक राहत उपलब्ध गराउने घोषणा गरेको छ।

काजकिरिया तथा अन्तिम संस्कारमा लाग्ने खर्चमा सहयोग पुगोस् भन्ने उद्देश्यले वडा कार्यालयले मृतकका परिवारलाई जनही ५० हजार रुपैयाँका दरले राहत उपलब्ध गराउने भएको वडा अध्यक्ष सुनिल मोक्तानले बताए। विपद्को यस कठिन घडीमा शोकसन्तप्त परिवारको पीडामा केही भए पनि राहत पुगोस् र दुःखमा आफूहरू एक्लो नभएको अनुभूति गराउन वडा कार्यालयले उक्त सहयोगको घोषणा गरेको अध्यक्ष मोक्तानले बताए।

घटनाको सुरुवाती चरणदेखि नै बेपत्ता नागरिकहरूको खोजी तथा उद्धारका लागि सक्रिय रहेका अध्यक्ष मोक्तान शव पहिचान, मध्यबिन्दु तथा भरतपुर अस्पतालसम्म पुगेर कानुनी प्रक्रिया पूरा गर्ने र पार्थिव शरीर परिवारसम्म ल्याउने कार्यमा समेत निरन्तर खटिरहेका थिए।

शव बुझाउने प्रक्रिया पूरा भएलगत्तै वडा कार्यालयले आर्थिक राहतसमेत घोषणा गरेपछि शोकमा डुबेका परिवारलाई तत्काल केही राहत र सहारा मिल्ने भएको छ। विपद्को समयमा जनप्रतिनिधि र स्थानीय सरकार प्रशासनिक काममा मात्र सीमित नभई नागरिकको दुःख र पीडामा प्रत्यक्ष रूपमा साथमा उभिनुपर्ने सन्देश हेटौँडा–१५ को यस पहलले दिएको छ।

वडा कार्यालयले बाढीमा परी ज्यान गुमाएका सुमन गोले र रमेश मगरप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ। साथै, यस दुःखद् घडीमा परिवारजनलाई धैर्यधारण गर्ने शक्ति मिलोस् भन्ने कामनासमेत गरेको छ।

प्रतिक्रिया