रसुवा बाढीमा बेपत्ता हेटौँडावासीको खोजीमा उपमहानगरको टोली सक्रिय
हेटौँडा / भदौ १० गते आएको रसुवा बाढीका कारण बेपत्ता भएका हेटौँडा उपमहानगरपालिका क्षेत्रका नागरिकहरूको खोजीका लागि उपमहानगरपालिकाको टोली सक्रिय बनेको छ ।
काम तथा भ्रमणका सिलसिलामा रसुवा क्षेत्रमा पुगेका हेटौँडा उपमहानगरपालिका क्षेत्रका विभिन्न वडाका नागरिक बाढीपछि बेपत्ता भएपछि उनीहरूको खोजी तथा उद्धारका लागि नगर प्रमुख मीनाकुमारी लामा र उपप्रमुख राजेश बानियाँसहितको टोली सक्रिय बनेको हो ।
टोलीले भदौ ११ गतेदेखि बाढी प्रभावित क्षेत्र धादिङको गल्छीबाट नागरिकहरूको खोजी अभियान सञ्चालन गरेको थियो। भदौ ११ र १२ गते टोलीले धादिङका विभिन्न स्थान तथा काठमाडौंका अस्पतालमा पुगेर बेपत्ता नागरिकहरूको खोजी र उद्धार कार्यमा भूमिका निर्वाह गरेको जनाएको छ । अभियानकै क्रममा रसुवाबाट हेलिकप्टरमार्फत उद्धार गरी ल्याइएका हेटौँडा उपमहानगरपालिका–५ निवासी आमा निरु खड्का र छोरी निमिसा खड्कालाई सुरक्षित रूपमा घरसम्म पुर्याइएको छ ।
शुक्रबार राति हेटौँडा फर्किएको टोलीले बाढीमा बेपत्ता भएका हेटौँडा–५ र हेटौँडा–१५ का तीन परिवारसँग भेटघाट गरेको थियो । त्यसपछि टोली शनिबार पीडित परिवारका सदस्यसहित चितवनको भरतपुरतर्फ गएको छ । बाढीले बगाएर सम्भावित रूपमा चितवनको नारायणी नदीसम्म पुर्याएका हेटौँडावासीको पहिचानका लागि पीडित परिवारका सदस्यसहित भरतपुरका विभिन्न अस्पतालमा खोजी गर्न गएको नगर प्रमुख लामाले बताउनुभयो ।
खोजी टोलीमा हेटौँडा उपमहानगरपालिका–३ का वडा अध्यक्ष ढलकबहादुर थापा, वडा नम्बर–८ का अध्यक्ष रामकृष्ण थापा, वडा नम्बर–९ का अध्यक्ष सुकराम केसी र वडा नम्बर–११ की अध्यक्ष जुना दाहाललगायत सहभागी छन्।
चीन र रसुवाको सीमा क्षेत्रमा रहेको भोटेकोशी नदीमा आएको बाढीका कारण हेटौँडा उपमहानगरपालिका क्षेत्रका ४८ जना नागरिक बेपत्ता रहेको जिल्ला प्रशासन कार्यालय मकवानपुरको तथ्यांकमा उल्लेख छ। तर, हेटौँडा उपमहानगरपालिकाको प्रत्यक्ष सम्पर्कमा भने हालसम्म २० जना बेपत्ता नागरिकका परिवार मात्र रहेको जनाइएको छ।
उपमहानगरपालिकाले बेपत्ता नागरिकहरूको खोजीलाई निरन्तरता दिँदै सम्बन्धित परिवारसँग समन्वय गरेर सम्भावित स्थान तथा अस्पतालहरूमा खोजी अभियान सञ्चालन गरिरहेको जनाएको छ।

