१८ सम्पर्क विहीनको खोजी गर्न थाहाका नगरप्रमुख पुगे रसुवा

पालिका डायरी
११ भाद्र २०८३, २२:०५

रसुवामा आएको बाढीपछि सम्पर्कविहीन भएका १८ जनाको तस्बिरसहितको विवरण बोकेर मकवानपुरको थाहा नगरपालिकाका नगरप्रमुख विष्णुबहादुर विष्ट नेतृत्वको टोली रसुवा पुगेको छ।

सम्पर्कविहीन नागरिकको अवस्था बुझ्न बिहीबार (आज) रसुवा र नुवाकोटको बाढी प्रभावित स्थानमा पुगेको हो। टोलीले दिनभर सम्भावित क्षेत्रमा खोजी गरे पनि अहिलेसम्म कसैको अवस्थाबारे यकिन जानकारी पत्ता लगाउन नसकेको नगरप्रमुख विष्टले बताएका छन्।

बाढीपछि आफ्ना नागरिक सम्पर्कविहीन भएपछि उनीहरूको खोजी तथा उद्धारका लागि नगरप्रमुख विष्ट आफै घटनास्थल पुगेका हुन्। उनका अनुसार सम्पर्कविहीन १८ जनाको फोटोसहितको विवरण सम्बन्धित सुरक्षा निकाय, स्थानीय तथा सम्भावित उद्धार टोलीलाई उपलब्ध गराउँदै खोजी अघि बढाएको छ।

बाढीका कारण सडक तथा सञ्चार सम्पर्क प्रभावित हुँदा खोजी कार्यमा कठिनाइ भइरहेको बताइएको छ। टोलीले सम्भावित स्थानमा पुगेर स्थानीयसँग जानकारी लिने, भेटिएका शव तथा उद्धार गरिएका व्यक्तिहरूको विवरणसँग सम्पर्कविहीनको विवरण मिलाउने लगायतका काम गरिरहेको छ।

सम्पर्कविहीन नागरिकका परिवारजन भने आफन्तको अवस्थाबारे जानकारी पाउने आशामा छन्। नगरप्रमुख विष्टले खोजी कार्यलाई निरन्तरता दिइने र सम्बन्धित निकायसँग समन्वय गरी नागरिकको अवस्था पत्ता लगाउन अधिकतम प्रयास गरिने बताएका छन्। उनका अनुसार दिनभर खोजी गर्दा पनि कसैको अवस्था पत्ता लागेको छैन।

थाहा नगरपालिकाले संकलन गरेको विवरण अनुसार भुवन लामिछाने, सोनाम गोले, विजय बलामी, सुदीप कार्की, हिरा लामा, टीकालाल लामा, सबिन लो, लालबहादुर लामा (सुब्बा), प्रशान्त कार्की, रामेश्वर लामा, राजु बल, सोमलाल गोले, श्रीकृष्ण थिङ, रञ्जन अधिकारी, रेलबहादुर अधिकारी, सुदीप वाइबा, सूर्य गोपाली (मिलन) र राजु लामा तामाङ सम्पर्क विहीन भएका हुन्। उनीहरुमध्ये सवारी चालक रहेको बताइएको छ।

प्रतिक्रिया