बाढीपीडितका लागि वडा अध्यक्ष पाण्डेद्वारा एक महिनाको भत्ता सहयोग
रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारमा सहयोग पुर्याउने उद्देश्यले भीमफेदी गाउँपालिका–४ का वडा अध्यक्ष सागर पाण्डेले आफ्नो एक महिनाको भत्ता बराबरको रकम रु २२ हजार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका छन्।
वडा अध्यक्ष पाण्डेले नेपाल सरकारबाट आफूले प्राप्त गर्ने एक महिनाको भत्ताबापतको रकम विपद् प्रभावित नागरिकको राहतका लागि कोषमा जम्मा गरेका हुन्। उनले यस्तो विपद् सरकारको मात्र नभई सिङ्गो देशको साझा विपद् भएकाले सबैले आ–आफ्नो ठाउँबाट सक्दो सहयोग गर्नुपर्ने बताएका छन्।
उनले सामाजिक सञ्जाल फेसबुकमार्फत भनेका छन्, “यो विपद् सरकारको मात्र होइन, सिङ्गो देशको विपद् हो। यस्तो कठिन घडीमा हामी सबैले आ–आफ्नो ठाउँबाट सक्दो सहयोग र साथ दिन आवश्यक छ।”
वडा अध्यक्ष पाण्डेले सरकार र देश सबै नागरिकको साझा भएकाले विपद्को समयमा मानवीय भावना र एकताका साथ सहयोग गर्नसमेत आग्रह गरेका छन्।
उनले “सक्दो सहयोग गरौँ, विपद्मा परेका नागरिकको साथ बनौँ” भन्ने अपिलसमेत गरेका छन्। रसुवालगायत बाढी तथा विपद्बाट प्रभावित क्षेत्रमा राहत र पुनःस्थापनाका लागि सहयोग जुटाउने अभियानमा आफ्नो तर्फबाट पनि योगदान गरेको उनको भनाइ छ।


