सहमति नजुट्दा बागमती प्रदेशसभा बैठक साँझ ५ बजेका लागि सर्यो
दलहरूबीच सहमति नजुट्दा बागमती प्रदेशसभाको सोमबार (आज) दिउँसो १ बजेका लागि बोलाइएको बैठक साँझ ५ बजेसम्मका लागि सारिएको छ ।
प्रदेशसभा सचिवालयले विशेष कारणवश निर्धारित समयमा बैठक बस्न नसक्ने भन्दै बैठकको समय परिवर्तन गरिएको सूचना जारी गरेको हो। प्रदेशसभा नियमावली, २०७४ को नियम ६ को उपनियम (३) बमोजिम सभामुखले बैठक आजै साँझ ५ बजे बस्ने गरी निर्धारण गरेका छन् ।
मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरेका छन्। तर, विश्वासको मत लिने विषयसहित समसामयिक राजनीतिक विषयमा दलहरूबीच सहमति जुट्न नसकेपछि बैठकको समय सारिएको हो ।
प्रदेशसभामा सरकारको समर्थन, राप्रपाको आन्तरिक विवाद तथा सांसदको कारबाहीको विषयलाई लिएर दलहरूबीच विवाद देखिएको छ। यही कारण बिहानदेखि नै दलहरूबीच सहमतिको प्रयास भइरहेको छ ।
प्रदेशसभा सचिव रामकुमार पौडेलले जारी गरेको सूचनामा भने बैठक समय परिवर्तनको कारण ‘विशेष कारण’ मात्र उल्लेख गरिएको छ । अब प्रदेशसभा बैठक साँझ ५ बजे बस्नेछ ।


