राप्रपामा ह्विपको जुहारी, एउटै विषयमा दुई निर्देशनले अन्योलमा सांसद
बागमती प्रदेश सभामा मुख्यमन्त्री किरण थापाले विश्वासको मत लिनुअघि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्रको विवाद उत्कर्षमा पुगेको छ।
मुख्यमन्त्रीलाई विश्वासको मत दिने कि नदिने भन्ने विषयमा राप्रपाका सांसदलाई पार्टीभित्रैबाट दुई वटा फरक ह्विप जारी भएपछि सांसदहरू अन्योलमा परेका छन्। बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापाले आफू निकटबाट प्रमुख सचेतक नियुक्त गर्दै मुख्यमन्त्री किरण थापाको पक्षमा मतदान गर्न ह्विप जारी गरेका छन्। थापाले डम्बर तामाङलाई प्रमुख सचेतकमा नियुक्त गरेका हुन्।
त्यस्तै, राप्रपा केन्द्रको निर्देशनमा आइतबार नै राप्रपाकी प्रमुख सचेतक कुमारी तामाङले मुख्यमन्त्री थापाले मागेको विश्वासको मतको विपक्षमा मतदान गर्न ह्विप जारी गरिसकेकी थिइन्। यसरी एउटै दलका सांसदलाई विश्वासको मतको पक्ष र विपक्षमा मतदान गर्न ह्विप जारी भएपछि अन्योल छाएको हो।
यसैबीच, सोमबार प्रदेश सभा बैठक सुरु हुनुअघि बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा राप्रपाकी प्रमुख सचेतक तामाङले उद्धव थापामाथि कारबाही नभएसम्म प्रदेश सभा बैठक सञ्चालन हुन नदिने चेतावनी दिएकी छन्। पार्टीको निर्णय र निर्देशनविपरीत प्रदेश सरकारलाई समर्थन गरेको भन्दै राप्रपाले थापामाथि कारबाहीको प्रक्रिया अघि बढाएको छ। यही विषयलाई लिएर तामाङले प्रदेश सभा बैठकमै पार्टीको अडान कडाइका साथ प्रस्तुत गरेकी हुन्।
बागमती सरकार गठनका क्रममा पार्टीको केन्द्रीय निर्णयविपरीत सरकारलाई समर्थन गरेको भन्दै राप्रपा केन्द्रले संसदीय दलका नेता उद्धव थापालाई कारबाही प्रक्रिया अघि बढाएको छ। केन्द्रले प्रदेश सरकारमा सहभागी हुने वा सरकार गठनको अंकगणितमा संलग्न नहुने नीति लिएको अवस्थामा थापाले भने प्रदेश सरकारलाई समर्थन गरेका थिए।
त्यसपछि राप्रपा केन्द्र र बागमती संसदीय दलबीच अधिकारको विवाद चर्किँदै आएको छ। केन्द्रले थापालाई कारबाहीको सिफारिश गरेपछि पनि उनले आफू संसदीय दलको नेता नै रहेको जनाएका छन्।
उनले संसदीय दलको नेताका रुपमा कामकाज गरिरहेका छन्। उनले प्रमुख सचेतक नियुक्त गरेर सांसदलाई विश्वासको मतको पक्षमा मतदान गर्न निर्देशन दिएका हुन्।
यता, प्रमुख सचेतक तामाङले भने पार्टीको आधिकारिक निर्णयअनुसार, विश्वासको मतको विपक्षमा मतदान गर्न ह्विप जारी गरेकी हुन्। एउटै दलबाट जारी भएका यी दुई फरक ह्विपमध्ये सांसदहरूले कुन निर्देशन पालना गर्छन् भन्ने विषय चासोका साथ हेरिएको छ।
मुख्यमन्त्री किरण थापाले आज प्रदेश सभामा विश्वासको मत लिँदै छन्। सरकारको पक्षमा बहुमत जुटाउन आवश्यक मतका लागि राप्रपाका सांसद निर्णायक बन्न सक्ने अवस्थामा पार्टीभित्रको यो विवादले विश्वासको मतको परिणामलाई समेत प्रभावित पार्न सक्ने देखिएको छ।
विश्वासको मत लिनुअघि राप्रपाभित्र देखिएको यो ‘ह्विपको जुहारी’ ले बागमतीको सत्ता राजनीतिलाई थप रोचक बनाएको छ।


