थाहामा रक्तदान कार्यक्रम सम्पन्न, ७६ जनाले गरे रक्तदान
मकवानपुरको थाहा नगरपालिका–४ मा वृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । लायन्स क्लब अफ पिस थाहा, लियो क्लब अफ पिस थाहानगर, पालुङ जेसीज र मोबाइल एसोसिएसन अफ मकवानपुर, उत्तरी क्षेत्रको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रम थाहा नगरपालिका वडा नं. ४ को सहयोग तथा समन्वयमा नेपाल स्वयंसेवी रक्तदाता समूह एवं केन्द्रीय रक्तसञ्चार सेवाको सहकार्यमा पालुङ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, थाहा–४ को प्राङ्गणमा आयोजित रक्तदान कार्यक्रममा ७६ जना रक्तदाताले रक्तदान गरेका छन्।
रक्तदान गर्ने ७६ जनामध्ये १२ जना महिला र ६४ जना पुरुष रहेका थिए। कार्यक्रममा स्थानीय नागरिक तथा विभिन्न संघ–संस्थासँग आबद्ध व्यक्तिहरूको उत्साहजनक सहभागिता रहेको थियो।
कार्यक्रमका प्रमुख अतिथि थाहा नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष नारायण लामा रहेका थिए। कार्यक्रमको सभाध्यक्षता लायन्स क्लब अफ पिस थाहा, वर्ष २०२६/२७ का अध्यक्ष निरज रायमाझीले गरेका थिए।
रक्तदानजस्तो मानवीय सेवामूलक कार्यमार्फत आवश्यक परेका बिरामीका लागि रगत उपलब्ध गराउने उद्देश्यले आयोजना गरिएको कार्यक्रमले सामाजिक उत्तरदायित्व र स्वयंसेवी भावनालाई थप प्रोत्साहन गरेको आयोजकहरूले बताएका छन्।
कार्यक्रममा सहभागी भई रक्तदान गर्ने सम्पूर्ण रक्तदाता, सहयोगी संस्था तथा स्वयंसेवकहरूलाई आयोजक संस्थाहरूले धन्यवाद व्यक्त गरेका छन्।


