गाउँपालिका र हस्पिटलबीच स्वास्थ्य सम्झौता, स्वास्थ्य सेवा नागरिकको आधारभूत अधिकार होः अध्यक्ष मुक्तान
मकवानपुरको विकट क्षेत्र कैलाश गाउँपालिकाका नागरिकलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले कैलाश गाउँपालिका र सिएमसी हस्पिटल, हेटौंडा बीच स्वास्थ्य उपचारसम्बन्धी सम्झौता भएको छ । स्वास्थ्य सम्झौता पत्रमा गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तान र हस्पिटलका प्रमुख परिचालन अधिकारी डा. आकेश प्रजापतिले हस्ताक्षर गरेका छन् ।
गाउँपालिकाका नागरिकलाई हस्पिटलबाट उपलब्ध हुने विभिन्न स्वास्थ्य उपचार तथा सेवामा सहजीकरण गरिनेछ । गाउँपालिकाका नागरिकलाई स्वास्थ्य उपचारका लागि टाढा जानुपर्ने बाध्यता कम गर्नुका साथै विशेषज्ञ स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने उद्देश्यले सम्झौता गरिएको गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले बताए ।
अध्यक्ष मुक्तानले स्वास्थ्य सेवा नागरिकको आधारभूत अधिकार भएकाले दुर्गम क्षेत्रका नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवाको पहुँचमा ल्याउन गाउँपालिकाले प्राथमिकता दिएको बताए । “कैलाशका नागरिकले आर्थिक अभाव वा भौगोलिक विकटताका कारण गुणस्तरीय स्वास्थ्य उपचारबाट वञ्चित हुन नपरोस् भन्ने हाम्रो मुख्य उद्देश्य हो । सिएमसी हस्पिटलसँगको यो सहकार्यले गाउँपालिकाका नागरिकलाई विशेषज्ञ तथा गुणस्तरीय स्वास्थ्य सेवा लिन थप सहज हुने विश्वास लिएका छौँ,” अध्यक्ष मुक्तानले भने ।
गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा पूर्वाधार विकाससँगै १० शैयाको अस्पताल सञ्चालन गरिएको समेत बताए । गाउँपालिकाको आयोजना र हस्पिटलको प्राविधिक सहयोगमा भएको निशुल्क स्वास्थ्य शिविरमा उपस्थिती नागरिकलाई लक्षित गरी अब अस्पतालबाटै सेवा लिन आग्रह समेत गरेका छन् ।
हाम्रो गाउँपालिका भौगोलिक रूपमा विकट र चेपाङ तथा तामाङ समुदायको उल्लेख्य बसोबास रहेको क्षेत्र भएकाले यहाँका नागरिकलाई विशेषज्ञ स्वास्थ्य सेवाका लागि हेटौंडा मनहरी लगायतका शहरमा पुग्नुपर्ने बाध्यता छ । अब विस्तारै गाउँमै अस्पताल सञ्चालनले केही सहजता रहने उनले बताए । गाउँपालिकाको परिचय खुल्ने नागरिकता, मतदाता परिचय पत्र वा राष्ट्रिय परिचय पत्र पेश गरेर स्वास्थ्य सेवा लिन सकिने जनाइएको छ ।
शनिबार भएको स्वास्थ्य शिविरमा सिएमसी हस्पिटलका बाल रोग, प्रसुति तथा स्त्री रोग, हाडजोर्नी तथा नशा रोग,नाक,कान घाटीँ रोग, अर्थोपेडिक तथा ट्रमा सर्जरी विशेषज्ञहरुबाट स्वास्थ्य परिक्षण गरिएको थियो । शिविरमा तीन सय ५० भन्दाबढीले सेवा लिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख तिलकप्रसाद गौतमले बताए । शिविरमा सबैभन्दा बढी प्रसुति तथा स्त्री रोग सम्बन्धी परिक्षण भएको उनले बताए । शिविरमा आँखा परिक्षण, भिडियो एक्सरे, अर्थोपेडिक र सामान्य रोगको परिक्षण गरिएको थियो । स्वास्थ्य परिक्षण सँगै परामर्श र आवश्यक औषधि समेत वितरण गरिएको गौतमले बताए ।
सम्झौता पत्र हस्ताक्षर तथा स्वास्थ्य शिविर कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सीता कुमारी खत्री, सिएमसी हस्पिटलका सञ्चालक जेनिशा अधिकारी, गाउँपालिकाका वरिष्ठ लेखा अधिकृत टीकाराम अधिकारी, स्वास्थ्य शाखा प्रमुख तिलक प्रसाद गौतमलगायत हस्पिटलका डाक्टरहरुको उपस्थिती रहेको थियो ।



