बासुदेव खोला दुर्घटनाका पीडित परिवारलाई १५ नम्बर वडा कार्यालयद्वारा राहत, पुल बन्न नदिने—अनि लासमाथि राजनीति गर्ने: वडा अध्यक्ष सुवेदी

राम कुमार दानी
६ भाद्र २०८३, २१:१३

हेटौंडा । हेटौंडा उपमहानगरपालिका–१९ स्थित बासुदेव खहरे खोलामा आएको बाढीमा परी ज्यान गुमाएका तीन बालिकाका परिवारलाई हेटौंडा उपमहानगरपालिका–१५ नम्बर वडा कार्यालयले राहत रकम हस्तान्तरण गरेको छ।

वडा अध्यक्ष सुनिल मोक्तानले पीडित परिवारको घरमै पुगेर मृतक तीन बालिकाका परिवारलाई जनही १० हजार रुपैयाँका दरले ३० हजार रुपैयाँ राहत प्रदान गरेका हुन्। दुर्घटनामा घाइते भएकी एक बालिकालाई थप १५ हजार रुपैयाँ सहयोग गरिएको छ।

वडा कार्यालयले मृतक परिवार र घाइते बालिकाका लागि गरी कुल ४५ हजार रुपैयाँ बराबरको राहत तथा सहयोग उपलब्ध गराएको हो।

यही भदौ २ गते हेटौंडा–१९ स्थित निर्मल माध्यमिक विद्यालयबाट पढाइ सकेर बेलुका ४ बजे घर फर्कने क्रममा बासुदेव खोलाले बगाउँदा ८ वर्षीया रेश्मा स्याङ्तान, ११ वर्षीया सुमित्रा ब्लोन र १२ वर्षीया बिनिता ब्लोनको मृत्यु भएको थियो। घटनामा १३ वर्षीया सीमा ब्लोनको भने सकुशल उद्धार गरिएको थियो।

राहत हस्तान्तरण गर्दै वडा अध्यक्ष मोक्तानले घटनाले आफूहरूलाई अत्यन्तै मर्माहत बनाएको बताउँदै दिवंगत बालिकाहरूप्रति श्रद्धाञ्जली अर्पण गरे। उनले शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गर्दै घाइते बालिकाको शीघ्र स्वास्थ्यलाभको कामना गरे।

बाढीका कारण ज्यान गुमाएका बालिकाका परिवारलाई तत्काल राहत उपलब्ध गराउँदै वडा कार्यालयले पीडित परिवारको दुःखमा स्थानीय सरकार साथमा रहेको सन्देश दिएको छ।

राहत वितरण कार्यक्रममा उपस्थित हेटौंडा–१९ का वडा अध्यक्ष नरनाथ सुबेदीले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै आफू वडाको जनप्रतिनिधि हुँदाहुँदै पनि बासुदेव खोलामा पुल निर्माण गर्न नसक्दा आज ठूलो क्षति बेहोर्नुपरेको बताए।

उनले घटना भएको बासुदेव खोला हिँड्ने स्थानमा अर्काको जग्गा परेको र पटक–पटक आग्रह गर्दा पनि जग्गाधनीले पुल बनाउन नदिएका कारण आज ठूलो दुर्घटना भएको दाबी गरे। यस घटनाले सिंगो हेटौंडा–१९ नम्बर वडा शोकमा डुबेको उनको भनाइ थियो।

अध्यक्ष सुबेदीले आफूलाई केही व्यक्तिले मृतक बालिकाहरूको लासमाथि राजनीति गरेको आरोप लगाएकोप्रति दुःख व्यक्त गर्दै दुर्घटनालाई राजनीतिकरण नगर्न आग्रह गरे। गरिब तथा दलित व्यक्तिमाथि लाञ्छना लगाएर राजनीतिकरण गर्न खोजिएको भन्दै आफू दुःखी भएको उनको भनाइ थियो।

कार्यक्रममा नेकपा एमाले राक्सिराङ गाउँपालिकाका अध्यक्ष रोहण लामा, युवा नेताहरू सानु लामा, सन्तोष चौलागाईं, नरेन्द्र भण्डारी, राजेश नगरकोटीलगायत युवाहरूको उपस्थिति थियो।

प्रतिक्रिया