भीमफेदीमा उच्च अदालतका मुख्य न्यायाधीशसहित ६ जना सवार गाडी दुर्घटना
मकवानपुरको भीमफेदी गाउँपालिका-६ जुरीखेलमा उच्च अदालत वीरगन्ज, पर्साका मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो गाडी दुर्घटना भएको छ।
मंगलबार (आज) बिहान करिब ७ बजे काठमाडौँबाट वीरगन्जतर्फ आउँदै गरेको प्रदेश ३–०१–००२ झ ५१८३ नम्बरको स्कारपियो अनियन्त्रित भई सडकबाट करिब ५०/६० मिटर तल खोल्सामा खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ।
दुर्घटनामा स्कारपियोमा सवार दुई महिला र चार पुरुष घाइते भएका छन्।
प्रहरीले घाइतेलाई उद्धार गरी उपचारका लागि भीमफेदी अस्पताल पठाएको छ।
घाइतेमध्ये एक महिलाको अवस्था गम्भीर रहेको तथा अन्य पाँच जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
घाइतेलाई थप उपचारका लागि सुविधा सम्पन्न अस्पतालमा पठाउने तयारी भइरहेको छ। घाइतेहरूको नाम तथा अन्य विवरण खुल्न बाँकी छ। यद्यपि गाडीमा उच्च अदालत वीरगन्ज, पर्साका मुख्य न्यायाधीश पनि रहेको प्रहरीले नेपालखबरसँग बताएको छ।
घाइतेको विस्तृत विवरण संकलन भइरहेको प्रहरीको भनाइ छ।
दुर्घटनाको खबर प्राप्त भएपछि इलाका प्रहरी कार्यालय भीमफेदीबाट ट्राफिक प्रहरीसहित सात जनाको टोली घटनास्थलमा पुगेको थियो।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीको टोलीसमेत घटनास्थलमा खटिएको छ।
दुर्घटनामा परेको गाडी घटनास्थलमै रहेको र सडकमा यातायात भने सञ्चालनमा रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

