नुवाकोटमा बस र माइक्रो भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते
नुवाकोटको शिवपुरी गाउँपालिका–७ थानाभञ्ज्याङमा बसले पार्किङ गरेर राखिएको माइक्रो भ्यानलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
शनिबार बिहान करिब ८ः२५ बजे बा.प्र.०८–१ ख ००५२ नम्बरको बस अचानक गुडेर सडकअगाडि रोकिराखिएको बा.प्र.३–००१ ज ११७६ नम्बरको खाली ईभी भ्यानलाई ठक्कर दिएको थियो। ठक्करपछि बस र ईभी भ्यान सडकबाट करिब ३०/४० मिटर तल भिरमा खसेका थिए।
दुर्घटनामा घाइते भएका पाँचै जनालाई उपचारका लागि काठमाडौंस्थित ग्रिनसिटी अस्पताल ल्याइएको थियो। अस्पताल पुर्याएलगत्तै दुई जनालाई चिकित्सकले मृत घोषणा गरेका हुन्।
मृत्यु हुनेमा काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ की अन्दाजी ५४ वर्षीया कृष्णमाया प्रजापती डंगोल र रामेछापको खाँडादेवी गाउँपालिका–२ की अन्दाजी ६५ वर्षीया उदयमाया खत्री रहेका छन्।
दुर्घटनामा सर्लाहीको लालबन्दी नगरपालिका–९ घर भई हाल काठमाडौंको काँडाघारी बस्ने अन्दाजी २५ वर्षीया सुजता पोखरेल, काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१० की अन्दाजी ४२ वर्षीया सर्मिला श्रेष्ठ र दोलखाको मेलुङ गाउँपालिका–६ घर भई हाल काठमाडौंको काँडाघारी बस्ने अन्दाजी ६० वर्षीया ज्ञानु श्रेष्ठ घाइते भएका छन्। तीनै जनाको अवस्था मध्यम रहेको र ग्रिनसिटी अस्पतालमा उपचार भइरहेको जनाइएको छ।
प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे थप अनुसन्धान गरिरहेको छ।

