हेटौँडा बसपार्कमा पार्किङ विवादपछि धारिलो हतियार प्रहार, चार जना घाइते

पालिका डायरी
२९ श्रावण २०८३, २२:२८

हेटौँडा /  मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१० स्थित बसपार्कमा गाडी पार्किङको विषयलाई लिएर भएको विवादमा धारिलो हतियार प्रहार हुँदा चार जना घाइते भएका छन्। घटनामा संलग्न रहेको आशंकामा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।

प्रहरीका अनुसार आज (शुक्रबार) बिहान करिब ११ः३० बजे हेटौँडा–१० बसपार्कमा मनहरी गाउँपालिका–१ मकरीका करिब ३१ वर्षीय लक्ष्मण बर्तौला र अन्य व्यक्तिबीच गाडी पार्किङको विषयलाई लिएर विवाद भएको थियो। विवाद बढ्दै जाँदा धारिलो हतियार प्रहार भएपछि चार जना घाइते भएका हुन्।

घाइते हुनेमा मनहरी गाउँपालिका–६ का २७ वर्षीय जीवन गोले, ओखलढुङ्गाको सिंहदेवी गाउँपालिका–७ का २८ वर्षीय राइज आले मगर, चितवनको राप्ती नगरपालिका–२ मिलनटोलका ३२ वर्षीय रामबहादुर पाख्रीन र राप्ती नगरपालिका–४ डडुवाका २८ वर्षीय जीवन तामाङ रहेका छन्।

प्रहरीका अनुसार जीवन गोले र रामबहादुर पाख्रीनको अवस्था मध्यम रहेको छ भने राइज आले मगर र जीवन तामाङको अवस्था सामान्य रहेको छ। घाइते चारै जनाको हेटौँडामा सामान्य उपचारपछि थप उपचारका लागि चितवन पठाइएको छ।

घटनापछि प्रहरीले खोजतलास तथा अनुसन्धान अघि बढाउने क्रममा घटनामा संलग्न रहेको आशंकामा हेटौँडा उपमहानगरपालिका–१२ पदमपोखरीका ३३ वर्षीय सुनिल थिङ, हेटौँडा–१५ भोर्लेका २८ वर्षीय करण लामा र मनहरी गाउँपालिका–१ मकरीका २३ वर्षीय उज्ज्वल बर्तौलालाई नियन्त्रणमा लिएको जनाएको छ। उनीहरूलाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखिएको छ।

यसैगरी घटनामा संलग्न रहेको शंकाका आधारमा भक्तपुरको सूर्यविनायक नगरपालिका–२ का ३७ वर्षीय लक्ष्मण विष्टलाई समेत नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजतलास जारी रहेको प्रहरीले जनाएको छ। घटनाको वास्तविक कारण, धारिलो हतियार प्रहारमा संलग्न व्यक्तिहरू तथा घटनामा उनीहरूको भूमिकाबारे थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया