बानियाँको ब्रिफिङ: बागमतीमा फेरि कांग्रेसै सरकार बन्ने देखियो

पालिका डायरी
२७ श्रावण २०८३, १८:५३
बानियाँको ब्रिफिङ: बागमतीमा फेरि कांग्रेसै सरकार बन्ने देखियो

मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बागमती प्रदेशमा फेरि पनि नेपाली कांग्रेस नेतृत्वकै सरकार बन्ने अवस्था रहेको ‘बिफिङ’ गरेका छन्।

बुधबार सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसमिति बैठकमा मुख्यमन्त्री बानियाँले नेकपा (एमाले) बाहिरिएर आफ्नो नेतृत्वको सरकार अल्पमतमा परे पनि नयाँ सरकार बन्ने परिस्थिति नदेखिएको बताए।

‘मेरो नेतृत्वको सरकारबाट एमाले बाहिरिएको छ। अहिले हाम्रो नेपाली पार्टी र कांग्रेस सम्मिलित अल्पमतको सरकार सञ्चालन गरिरहेको छु,’ बैठकमा बानियाँले ब्रिफिङ गर्दै भने, ‘उता नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीको सरकार बन्ने अवस्था पनि छैन। अहिलेसम्म राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल मजदूर किसान पार्टी सरकार निर्माणमा सहभागी नहुने बताइराखेका छ।’

बागमती प्रदेशको अंकगणित हेर्दा संविधानको धारा १६८ को २ अनुसार सबैभन्दा ठूलो दल कांग्रेसकै नेतृत्वमा फेरि सरकार गठनको अवस्था देखिएको बानियाँको भनाइ छ। ‘प्रदेश सभामा कसैको पनि बहुमत नपुग्ने अवस्था छ। फेरि कांग्रेसै नेतृत्वमा सरकार बनेपछि कसरी अगाडि बढ्ने सभापतिजीसँग सल्लाह गर्नुपर्ने भएको छ,’ उनले भने।

प्रदेश सरकार आउने–जाने भइरहने भन्दै पार्टीको वृहत एकताका लागि सबै गम्भीर बन्नुपर्ने मुख्यमन्त्री बानियाँले बताए। विगतमा कांग्रेसको नेतृत्वले आ–आफ्नो जिम्मेवारी पूरा गर्दै आएको भन्दै विशेष महाधिवेशनबाट आएको सभापति थापाको काँधमा विशेष जिम्मेवारी रहेको उनले बताए।

‘हिजो बीपी कोइराला राष्ट्रियता जोगाउन ज्यानको बाजी लगाएर स्वदेश फर्किनुभयो। बहुदलीय प्रजातन्त्र पुनर्स्थापनको नेतृत्व कृष्णप्रसाद भट्टराईले गर्नुभयो। शान्ति प्रक्रिया र गणतन्त्रको नेतृत्व गिरिजाप्रसाद कोइरालाले गर्नुभयो,’ बानियाले भने, ‘संविधान निर्माणको नेतृत्व सुशील कोइारलाले गर्नुभयो भने शेरबहादुर देउवाले संविधान कार्यान्वयनको नेतृत्व गरी निर्वाचन गराउनुभयो। पार्टी एकताबद्ध बनाएर लोकतन्त्रको रक्षा गर्ने विशेष जिम्मेवारी तपाईको बाँधमा छ।’

विद्यार्थी राजनीतिदेखि संघर्ष गरेर आएको सभापति थापाले पार्टीमा देखिएको संकटलाई समाधान दिने क्षमता राख्नुपर्ने उनको भनाइ छ। ‘पार्टी नेतृत्वले आलोचना र गालीको समना गर्नुपर्छ। पार्टीको सत्तामा बस्नेलाई इतर पक्षले गाली गर्छन् नै। हिजो शेरबहादुर देउवा पार्टी सत्तामा हुँदा धेरै गाली खेप्नुभएको थियो। धेरै गाली गर्दा पनि दोस्रो पटक धेरै मत ल्याएर जित्नुभयो। गालीले नेतृत्वलाई फरक पर्दैन,’ बानियाँले भने, ‘कसले गाली दियो भन्नेतिर नलाग्नुहोस्। विशेष महाधिवेशनबाट आएको सभापतिको काँधमा पार्टी मिलाउने विशेष जिम्मेवारी पनि छ।’

पार्टी एकता कायम राख्न आफू साथ दिन तयार रहेको भन्दै पार्टीभित्रको आन्तरिक एकतालाई मजबुद बनाउन बानियाँको आग्रह थियो। ‘इतर पक्ष रहेका पूर्वपदाधिकारीलाई सानेपामा बस्ने कोठाको व्यवस्था गरिदिनुस्। उहाँहरूलाई पार्टी कार्यालयमा आएर संघर्ष गरौं भनेर मैले भनेको छु,’ उनले भने।  संस्थापन र इतर पक्षका अतिवादी नेताहरूको अभिव्यक्तिप्रति आफ्नो आपत्ति रहेको भन्दै पार्टी मिलाउनुको विकल्प नभएको बानियाँले बताए। ‘अतिवादी कुरा गर्ने दुवैतिर छन्। यो ठीक भइराखेको छैन। त्यसमा पनि पार्टीको सत्तामा रहेकाहरुले प्रतिवाद गर्नेभन्दा पनि कामबाट जवाफ दिनुपर्छ,’ उनले भने।

यस्तै प्रतिनिधि सभामा कांग्रेस सांसदलाई एउटै भाषण लेखेर पठाउने काम पनि राम्रो नभएको भन्दै बानियाँले बैठकमा प्रश्न उठाएका थिए।

प्रतिक्रिया