मकवानपुरबाट पेस्तोल र म्यागजिन बरामद, १९ वर्षीय युवक पक्राउ
AI Photo
मकवानपुरको बागमती गाउँपालिका–९, बेतिनी अगौटेस्थित एक घरबाट प्रहरीले एक थान पेस्तोल र त्यसको म्यागजिन बरामद गरेको छ।
विशेष सूचनाका आधारमा सोमबार प्रहरीले बेतिनी अगौटेमा रहेको एक घरमा चेकजाँच गरेको थियो। चेकजाँचका क्रममा स्थानीय १९ वर्षीय टेकबहादुर सिङतानको घरबाट पेस्तोल बरामद भएको हो।
प्रहरीका अनुसार बालुवा–सिमेन्टले बनेको तथा जस्ताले छाएको दुईतले घरको माथिल्लो तलामा रहेको चोटामा राखिएको जेब्रा झोलाभित्र रातो टी–सर्टले बेरेर रातो प्लास्टिकमा लुकाइराखिएको अवस्थामा पेस्तोल फेला परेको थियो।
बरामद पेस्तोलमा ‘No. 017110’ लेखिएको प्रहरीले जनाएको छ। सोही स्थानबाट पेस्तोलको एक थान म्यागजिनसमेत बरामद गरिएको छ।
घटनासँग सम्बन्धित रहेको आरोपमा बागमती गाउँपालिका–९, बेतिनी अगौटे बस्ने १९ वर्षीय टेकबहादुर सिङतानलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेका सिङतानमाथि घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

