दुई यात्रुबाहक बस एकआपसमा ठोक्किँदा ७ जना घाइते
कैलालीको मोहन्याल गाउँपालिका–७ कुइनेस्थित चिसापानी–कुइने कच्ची सडकखण्डमा दुई यात्रुवाहक सवारी एकआपसमा ठोक्किँदा सात जना यात्रु घाइते भएका छन्।
लम्कीबाट कालिकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ज ०८९२ नम्बरको फोर्स गाडी र सोल्टाबाट चिसापानीतर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३१६८ नम्बरको बस एकआपसमा ठोक्किएर दुर्घटना भएको हो।
दुर्घटनामा फोर्स गाडीमा सवार १४ यात्रुमध्ये सात जना घाइते भएका छन्। घाइतेहरूलाई उपचारका लागि लम्कीतर्फ पठाइएको छ। बसमा सवार अन्य २७ जना भने सकुशल रहेका छन्।
दुर्घटनामा दुवै सवारीसाधनको अगाडिको भागमा क्षति पुगेको भए पनि दुवै सवारीसाधन चल्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ। दुर्घटनापछि पनि उक्त सडकखण्डमा सवारी आवागमन सामान्य रूपमा सञ्चालन भइरहेको छ। घटनापछि दुवै चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
घाइते हुनेहरूमा कैलालीको लम्कीचुहा नगरपालिका–१ की ५० वर्षीया लक्ष्मी शाही, लम्कीचुहा नगरपालिका–५ की ५३ वर्षीया कृष्णा देवी टमटा, सोही स्थानकी ५५ वर्षीया बासु देवी टमटा, कालिकोटको नरहरिनाथ गाउँपालिका–८ का ४८ वर्षीय प्रवे बिष्ट, रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–७ की २१ वर्षीया बिना शाही, उनका १ वर्षीय छोरा लविश चन्द तथा अछामको बिनायक नगरपालिका–८ की २१ वर्षीया निर्मला सञ्ज्याल रहेका छन्।
प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

