राप्रपा केन्द्रीय कार्यसम्पादन बैठक: लिङ्देन सरकारमा अनिच्छुक, बागमतीमा राप्रपा तटस्थ
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रदेश सरकारमा सहभागी नहुने संकेत गरेको छ। बुधबार (आज) काठमाडौँमा बसेको पार्टी केन्द्रीय कार्यसम्पादन बैठकले हालको अवस्थामा प्रदेश सरकारमा सहभागी नहुने संकेत देखिएको हो।
बैठकमा प्रदेश सरकारका विषयमा छलफल भए पनि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले त्यसलाई प्राथकिमतामा नराखेको सहभागी नेताहरुले बताएका छन्। ‘प्रदेश सरकारमा तत्काल नजाने नै कुरा भएको छ, ती नेताले भने, ‘अध्यक्ष ज्यु यस्तो परिस्थतीमा राप्रपालाई सरकारमा पठाउन मन छैन। त्यसैले बागमती प्रदेश सरकारलाई राप्रपाले सहयोग गर्ने सम्भावना टर्यो भन्दा पनि हुन्छ।’
राप्रपा बागमती प्रदेशका अध्यक्ष विक्रम बहादुर थापाका अनुसार बागमती प्रदेश सरकारमा सहभागी दल र अब बन्ने नयाँ गठबन्धनको तर्फबाट कुनै आधिकारिक पत्र प्राप्त नभएका कारण सरकारलाई सहयोग गर्ने तथा सरकारमा जाने विषयमा राप्रपाले ठोस निर्णय नगरेको हो।
‘अहिलेलाई राप्रपा तथस्ट बस्छ। सरकारलाई समर्थन गर्न जाने निर्णय भएको छैन,’ थापाले भने, ‘कांग्रेस, एमाले र नेकपा कुनै पनि दलबाट सघाउनका लागि आधिकारिक पत्र प्राप्त भएको छैन। पत्र प्राप्त भयो भने प्रदेश कार्यसम्पादन समितिको बैठकले के गर्ने? भन्ने छलफल गरेर निर्णय दिन्छ।’ उनका अनुसार राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन प्रदेश सरकारमा जाने विषयमा सकारात्मक देखिएका छैनन्।
यता, राप्रपा बागमती प्रदेश सभा संसदीय दलका नेता उद्धव थापाले पनि सरकारमा सहभागी हुने विषयको ठोस निर्णय नआएको बताउँछन्। ‘आजको बैठकले पनि ठोस निर्णय गरेन, उनले भने, ‘सम्भवतः सरकारलाई समर्थन गरेर सहभागी हुन राप्रपा तयार देखिएन। आधिकारिक पत्र आएको छैन भनेर अध्यक्ष ज्युले छलफललाई प्राथमिकता दिनुभएन रे भन्ने सुनेँ।’ राप्रपाका अर्का एक सांसदका अनुसार अल्पमतमा परेका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मंगलबार (हिजो) राप्रपालाई विश्वासको मतको लागि पत्र पठाएका थिए। उक्त पत्र दलका नेता उद्धव थापाको हातमा थमाउँदा राप्रपा अध्यक्ष लिङ्देन समेत सँगै रहेको ती सांसदको दाबी छ।
‘आधिकारिक पत्र आएको छैन भन्नु नै सरकारमा सहभागी हुन अध्यक्ष ज्युलाई रहर छैन भन्ने बुझ्दा हुन्छ, ती प्रदेश सांसदले भने, ‘संसदीय दलका नेता उद्धव माननीयलाई सम्बोधन गरेको पत्र अध्यक्ष ज्युकै सामुन्ने आएको थियो। तर अध्यक्ष ज्युले चासो व्यक्त गर्नुभएन। त्यसैले अहिलेलाई राप्रपाले बागमती सरकारलाई सघाउँदैन भनेर बुझ्न पर्ने भयो।’
१२ सिट रहेको राप्रपा बागमती प्रदेश सरकार गठनका लागि निर्णायक भूमिकामा छ। राप्रपाको अस्पष्टतासँगै बागमती प्रदेशको राजनीतिमा थप अन्योलता बढेको छ।

