बागमतीको मुख्यमन्त्री बन्दै थपलिया, थापा र पोखरेललाई व्याक गराइयो
बागमतीको मुख्यमन्त्रीमा जगन्नाथ थपलियाले दाबी पेश गर्ने भएका छन्।
बागमतीको नेतृत्व एमालेले लिने सहमती भएसँगै एमालेभित्रै देखिएको बिवादकाबीच थपलिया नै मुख्यमन्त्री बन्ने निर्णय भएको हो। मुख्यमन्त्रीका लागि प्रतिस्पर्धामा रहेका किरण थापा र केशव पोखरेललाई ब्याक गराएर थपलियालाई नै मुख्यमन्त्री बनाउने विषयमा सहमती जुटेको बताइएको छ।
तीन नेताबीच केही दिनदेखि मुख्यमन्त्रीका लागि आ–आफ्नो दाबी बढाइरहेका थिए। एमाले सचिव महेश बस्नेत निकट थापालाई मुख्यमन्त्री बनाउन संसदीय दलको नेता नै परिवर्तन गर्नेसम्मको तयारी भैसकेको थियो। तर आफ्नै दलभित्रको विवाद बाहिर आउन थालेपछि एमाले अध्यक्ष केपी शर्मा ओली, सचिव महेश बस्नेत, एमाले बागमती प्रदेशका अध्यक्ष कैलाश ढुंगेल लगायत नेताहरुको उपस्थितीमा भएको बैठकले एमाले बागमती प्रदेश संसदीय दलका नेता थपलियालाई नै मुख्यमन्त्रीको दाबी पेश गर्न दिइने सहमती भएको एमाले बागमती प्रदेशका उपाध्यक्ष दावा दोर्जे तामाङले बताए। ‘दलको नेता हिजो पनि जगन्नाथ थपलिाय नै हो। आज पनि उहाँ नै हो, उपाध्यक्ष तामाङले नेपालखबरसँग भने, ‘दलको नेताका लागि चुनाव हुँदैन। अब बहुमत सदस्यको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गर्नुहुन्छ।’
थपलिया चितवन १(१) बाट निर्वाचित सांसद हुन्। दलको नेतामा उनी सर्वसम्मत चयन भएका थिए। एमालेभित्रको सहमती पछि अब बहुमत सदस्यको हस्ताक्षर सहित मुख्यमन्त्रीमा दाबी पेश गर्ने तयारी रहेको छ।

