भेलबाढीमा भविष्य देख्ने तत्वप्रति सचेत रहन सिग्देलको आग्रह
हेटौंडा / नेकपा एमाले मकवानपुरका नेता तथा हेटौंडा उपमहानगरपालिका–४ का वडा अध्यक्ष नवीन सिग्देलले वर्तमान परिस्थितिमा सामाजिक सद्भाव, एकता र मानवीयताको रक्षा गर्नु सबैभन्दा ठूलो जिम्मेवारी भएको बताएका छन्।
सिग्देलले सबै प्रकारका हिंसाको अन्त्य गर्दै सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई बलियो बनाउन सबै पक्ष जिम्मेवार बन्नुपर्ने धारणा व्यक्त गरेका छन्। उनका अनुसार अहिलेको संवेदनशील अवस्थाको फाइदा उठाउँदै धमिलो पानीमा माछा मार्ने र भेलबाढीमा आफ्नो राजनीतिक भविष्य खोज्ने प्रवृत्ति सक्रिय देखिएको भन्दै त्यस्ता गतिविधिप्रति सचेत रहनुपर्ने आवश्यकता रहेको छ।
उनले केही जिम्मेवार व्यक्तिहरूबाट समेत सामाजिक एकता खलबल्याउने र परिस्थिति भड्काउने खालका अभिव्यक्ति आइरहेको उल्लेख गर्दै यस्ता गतिविधिले समाजमा द्वन्द्व सिर्जना गर्न सक्ने चेतावनी दिएका छन्।
सिग्देलले अहिलेको चुनौतीपूर्ण अवस्थामा संयम, धैर्यता र परिपक्वताका साथ परिस्थितिको सामना गर्दै सामाजिक सद्भाव, भाइचारा र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्। साथै, शान्ति, लोकतन्त्र र राष्ट्रिय एकताको संरक्षण तथा सुदृढीकरण नै वर्तमान समयको प्रमुख कार्यभार भएको उनको भनाइ छ।

