ओलीले गरे राष्ट्रिय एकता र शान्तिका लागि आह्वान
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय एकता र शान्तिका लागि आह्वान गरेका छन्। आज (बिहीबार) एक वक्तव्य जारी गर्दै उनले राष्ट्रिय हित र शान्ति स्थापनाका लागि एकजुट हुन आह्वान गरेका हुन्।
‘द्वन्द्व र हिंसाबाट समस्याको समाधान हुन सक्दैन। संवाद, सहमति र जिम्मेवार सहकार्यले नै वर्तमान जटिलताबाट मुलुकलाई निकास दिने छ,’ वक्तव्यमा भनेका छन्, ‘राष्ट्रको अस्तित्व, शान्तिसुरक्षा र सामाजिक सद्भावमाथि संकट आउन लागेको यस घडीमा म सम्पूर्ण राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवी तथा विभिन्न धार्मिक एवं सामाजिक सम्प्रदायका अगुवाहरूलाई राष्ट्रिय हित र शान्ति स्थापनाका लागि एकजुट हुन हार्दिक आह्वान गर्दछु।’
साथै ओलीले जनतालाई आपसमा विभाजित गर्दै अवाञ्छित उद्देश्य पूरा गर्ने षड्यन्त्रहरू भइरहेको हुन सक्नेतर्फ सचेतसमेत गराएका छन्। ‘नेकपा (एमाले) र अन्य राजनीतिक पार्टीका नेताकार्यकर्ता, नागरिक समाज र सञ्चारकर्मी लगायत सम्पूर्ण आमनागरिकहरूलाई कुनै पनि प्रकारको भ्रामक प्रचारको पछि नलागी संयमित हुन, सामाजिक सद्भाव र एकता कायम राख्नकालागि सक्रिय हुन हार्दिक अनुरोध गर्दछु,’ उनले भनेका छन्।
ओलीले राष्ट्रिय सुरक्षा र सामाजिक सुव्यवस्था संवेदनशील अवस्थामा पुग्दासमेत सरकारले उदासिनता देखाएको, अत्यधिक बल प्रयोग र मौनता अत्यन्त शंकास्पद एवं भर्त्सनायोग्य रहेको पनि उल्लेख गरेका छन्।


