आर्थिक वर्षका लागि: हेटौंडा–४ मा सडकदेखि शिक्षा र आईटी पार्कसम्मका योजना
हेटौंडा / हेटौंडा उपमहानगरपालिका–४ का वडा अध्यक्ष नवीन सिग्देलले आर्थिक वर्ष २०८३/०८४ मा वडाभित्र सञ्चालन हुने प्रमुख विकास योजना तथा कार्यक्रम सार्वजनिक गरेका छन्। नयाँ आर्थिक वर्षको सुरुवातसँगै उनले दोस्रो कार्यकालको अन्तिम वर्षमा वडाको समग्र विकासलाई तीव्रता दिने प्रतिबद्धता व्यक्त गरेका हुन्।
वडा अध्यक्ष सिग्देलका अनुसार चालु आर्थिक वर्षमा अधुरा रहेका रजतजयन्ती सडक, वडा प्रहरी कार्यालय तथा हुप्र पूर्वी सडक निर्माण सम्पन्न गरिनेछ। साथै सूर्यचोक–कर्रा सडक स्तरीकरण, प्रजातान्त्रिक पथ, सृजना पथ, अजरअम्मर रोड, नयाँ मार्ग, बुद्धपथलगायत भित्री सडकमा स्तरीकरण, ढल तथा पेटी निर्माणका काम अघि बढाइनेछ।
त्यसैगरी, पशुपति मन्दिर जाने सडक, वडाभित्रका कच्ची सडकको स्तरीकरण, धुलो–हिलो व्यवस्थापन, स्कुल रोडमा फल्चा निर्माण, गर्दोहीमा सार्वजनिक हल निर्माण तथा लोकतान्त्रिक चौर (हुप्र) क्षेत्रमा खानेपानी, खुला जिम, हरियाली र सार्वजनिक संरचनाको स्तरोन्नति गरिने जनाइएको छ।
शिक्षा क्षेत्रतर्फ निर्माणाधीन श्रमिक माध्यमिक विद्यालयको २४ कोठे भवन तथा भुटनदेवी माध्यमिक विद्यालयको १२ कोठे भवन सम्पन्न गरिनेछ। साथै भुटनदेवी माविमा आईटी पार्क निर्माणको सुरुवात हुने, आधुनिक राष्ट्रिय मावि र हेटौंडा क्याम्पसमा थप पूर्वाधार विस्तार गरिने योजना पनि रहेको छ।
यसैगरी, पार्क, मठमन्दिर, स्वास्थ्य केन्द्र, खेलकुद पूर्वाधार, आधुनिक कृषि तथा डिजिटल तालिम, आदिवासी जनजाति सांस्कृतिक महोत्सव, नगरस्तरीय खेलकुद प्रतियोगिता, विपन्न विद्यार्थीका लागि छात्रवृत्ति, भाषा, कला तथा संस्कृति प्रवर्द्धनका कार्यक्रम सञ्चालन गरिनेछन्। साथै महिला, युवा, बालबालिका, ज्येष्ठ नागरिक तथा विभिन्न सामाजिक समूहसँग सहकार्य गरी विविध कार्यक्रम सञ्चालन गरिने वडा कार्यालयले जनाएको छ।
वडा अध्यक्ष नवीन सिग्देलले संघीय सरकार, प्रदेश सरकार, हेटौंडा उपमहानगरपालिका तथा वडा कार्यालयबाट विनियोजित बजेटमार्फत अधिकांश योजना कार्यान्वयन हुने जानकारी दिँदै व्यवस्थित, समृद्ध र सुविधासम्पन्न वडा निर्माणलाई प्राथमिकतामा राखिएको बताए।

