मकवानपुरको सिमखोलामा बाढीमा बेपत्ता स्कुटी चालक मृत अवस्थामा फेला
मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ स्थित सिमखोलामा आएको बाढीमा बेपत्ता भएका स्कुटी चालक खोजीको क्रममा बिहीबार (आज) बिहान स्कुटर चालक सर्लाहीका महेश कुमार कार्की मृत अवस्थामा फेला परेका हुन् ।
सोमबार दिउँसो करिब ३ बजे अचानक आएको बाढीले बा.प्रदेश–०२–०३२ प ८०५४ नम्बरको स्कुटीसहित चालकलाई बगाएको थियो । घटनालगत्तै नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले खोजी गरेको थियो ।
खोजीको क्रममा मंगलबार स्कुटी घटनास्थलबाट करिब १ सय मिटर तल खोलाको दहमा फेला परेको थियो । त्यसपछि निरन्तर खोजी जारी राखिएकोमा चालकलाई पनि घटनास्थल नजिकै खोलामा करिब १ मिटर जति लेदो तथा ढुंगाले पुरिएको अवस्थामा मृत फेला पारिएको प्रहरीले जनाएको छ ।
बाढीले बगाएर ल्याएको लेदो, ढुंगा तथा तीव्र बहावका कारण खोजी कार्य निकै चुनौतीपूर्ण बनेको थियो । सुरक्षाकर्मीले स्थानीय बासिन्दाको सहयोगमा निरन्तर खोजी अभियान सञ्चालन गरेपछि शव फेला परेको हो ।
प्रहरीले मृतकको शव आवश्यक कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि पठाउने तयारी गरेको जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

