धादिङका सन्तोषको शव दुई महिनादेखि कम्बोडियाको अस्पतालमै, सरकारले सहयोग नगरेको गुनासो
कम्बोडियामा मृत्यु भएका सन्तोष राईको शव दुई महिना बितिसक्दा पनि नेपाल ल्याउन सकिएको छैन भने यसका लागि सरकारले सहयोग नगरेको पीडित परिवारजनले गुनासो गरेका छन्।
गत वैशाख ३१ गते (१४ मे) कम्बोडियामा सन्तोषको मृत्यु भएको थियो। धादिङको धुनिवेशी नगरपालिका-९ जुगेडीका ४२ वर्षीय सन्तोष २०८२ भदौ १६ मा कम्बोडिया गएका थिए। उनलाई गत वैशाख ३० गते (१३ मे) मा नेपाल फर्काउने तयारी गरिएको थियो। तर, त्यसको दुई दिनअघि ११ मेमा एक्कासी बिरामी परेका थिए। श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई तत्काल अस्पताल भर्ना गरिएको थियो।
उपचारकै क्रममा १४ मेमा उनको मृत्यु भएको थियो। उनको शव अस्पतालमै छ। उपचारमा लागेको खर्च नबुझाएसम्म शव निकाल्न नदिएको परिवारजनले बताएका छन्। आर्थिक अभाव र कानुनी जटिलताका कारण उनको शव कम्बोडियाकै अस्पतालमा रोकिएको हो।
धुनिवेशी नगरपालिका-९ का वडाध्यक्ष माधव सिलवालका अनुसार सन्तोषको शव नेपाल ल्याउने अभियानमार्फत नौ लाख रुपैयाँ सहयोग संकलन भएको छ। शव ल्याउनको लागि करिब १६ लाख रुपैयाँ अस्पताललाई बुझाउन पर्नेछ। ‘सन्तोषको परिवारले आर्थिक व्यवस्थापन गर्न सक्नुभएन,’ वडाध्यक्ष सिलवालले भने, ‘हामीले अभियानमार्फत उनको श्रीमती जुनु राईको खातामा नौ लाख रुपैयाँ संकलन गरेका छौँ। अझै सात लाख रुपैयाँ रकम पुगेको छैन। रकम जुटाउन नसकिएकै कारण शव ल्याउन नपाइएको हो।’
आर्थिकसँगै कानुनी जटिलता पनि रहेको वडाध्यक्ष सिलवालले बताए। सन्तोष श्रम स्वीकृति नलिई भिजिट भिसामा कम्बोडिया गएका थिए। उनको वैदेशिक रोजगार बीमासमेत सक्रिय नभएको बताइएको छ। त्यसै कारण उपचार खर्च, शव व्यवस्थापन तथा नेपाल ल्याउने प्रक्रियामा आवश्यक आर्थिक सहायता प्राप्त हुन नसकेको उनले बताए। जसले गर्दा उनको शव स्वदेश फिर्ता गर्ने प्रक्रिया थप कठिन बनेको सिलवालको भनाइ छ।
यसका लागि आवश्यक रकम धुनिवेशी नगरपालिकाले पनि उपलब्ध गराउने तयारी गरिरहेको उनले बताए। ‘मुख्य कुरा त आफन्तको शव कसरी दाहसंस्कार गर्ने भन्ने कुरामा परिवार स्पष्ट हुनुपर्यो। नेपाल ल्याउन धेरै खर्च लाग्ने भएपछि परिवार उतै गएर दाहसंस्कार गरेर आउने कि? एनआरएसँगको सहकार्यमा उतै व्यवस्थापन गर्न लगाउने? निर्क्योल भएको छैन,’ उनले भने, ‘खर्च जुटाउन नसक्दा परिवार अलमलमा छ।’
सन्तोषकी पत्नी जुनु राईका अनुसार सहयोग स्वरूप हालसम्म उनको बैंक खातामा सात-आठ लाख रुपैयाँ जम्मा भएको छ। तर उक्त रकमले उपचारमा लागेको खर्च, शव व्यवस्थापन र नेपाल ल्याउने सम्पूर्ण खर्च धान्न पर्याप्त नभएकाले दुई महिनादेखि थप सहयोगको प्रतीक्षामा बस्नुपरेको उनले बताइन्।
‘सरकारले शव ल्याउन सहयोग गर्ने आशमा एनआरएन पनि धाएँ, परराष्ट्र मन्त्रालय गएर मन्त्री, सचिव सबैलाई भेटेँ। तर कतैबाट केही लागेन,’ जुनुले भनिन्। गैरकानुनी बाटोबाट विदेश गएकै कारण शव ल्याउन पनि समस्या भोग्नु परिरहेको उनले बताइन्। यसमा सरकारले सहयोग नगरेको उनको गुनासो छ। ‘अस्पतालमा शव रोखेको पनि दिनको सात हजार रुपैँया पर्छ रे। त्यो रकम पनि जोडिँदै गएको छ। अब त झन् कसरी ल्याउन सकौँला,’ उनी चिन्ता जनाउँछिन्।
आर्थिक रुपमा कमजोर अवस्था भएकाले आफैले खर्च जुटाउन नसकेको उनले बताइन्। सन्तोषको शव स्वदेश ल्याउनका सहयोगको याचना गरेकी छन्। ‘सरकार, सम्बन्धित निकाय, गैरआवासीय नेपाली संघ (एनआरएनए) तथा सबै सहयोगी मनहरूलाई शव स्वदेश ल्याउन सहयोग गरिदिन अनुरोध गर्छु,’ उनले भनिन्।
२०६८ सालमा सन्तोषसँग विवाह गरेकी जुनु सामुदायिक विद्यालयकी बालविकास शिक्षक हुन्। उनका १३ वर्षको छोरा र आठ वर्षकी छोरी छन्। सन्तोषको शव ल्याउनका लागि रकम जुटाउन राष्ट्रिय वाणिज्य बैंकमा रहेको खाता नम्बर १०८०१००००१८९५०१० मा सहयोग संकलन गरिरहेकी छन्।

