शरीरमा पेट्रोल छर्केर आगो लगाएका व्यवसायीको मृत्यु

पालिका डायरी
२७ असार २०८३, १७:२५
शरीरमा पेट्रोल छर्केर आगो लगाएका व्यवसायीको मृत्यु

काठमाडौँको बुद्धनगरमा शनिबार आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका व्यवसायी आश्विन राउतको मृत्यु भएको छ।

व्यवसायी राउतको शनिबार अपराह्न वीर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर, काठमाडौँका एसपी पवनकुमार भट्टराईले जानकारी दिए। राउतको शरीरमा ६० प्रतिशत जलन भएको थियो।

शनिबार बिहान काठमाडौँ महानगरपालिका-१० बुद्धनगरस्थित आफ्नै घरमा ४५ वर्षीय राउतले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए। आगोले जलेर घाइते भएका राउतलाई प्रहरीले वीर अस्पताल पुर्‍याएको थियो। पारिवारिक विवादका कारण व्यवसायी राउतले आफ्नै शरीरमा आगो लगाएको देखिएको प्रहरीको भनाइ छ।

पछिल्लो तीन दिनमा तीन जनाले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका छन्। बिहीबार मुगुका गणेश नेपालीले नगर प्रहरीसँग विवाद भएपछि आफ्नै शरीरमा आगो लगाएका थिए। उनको शुक्रबार उपचारका क्रममा वीर अस्पतालमा मृत्यु भएको छ।

त्यस्तै, शुक्रबार सर्लाहीका विवेक मण्डलले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए। सर्लाहीको गौडेता नगरपालिका-१० का ३५ वर्षीय विवेकलाई उपचारका लागि हेलिकप्टरबाट काठमाडौँ ल्याइएको छ। उनको अवस्था पनि गम्भीर रहेको छ।

प्रतिक्रिया