धादिङमा छोराले फलामको पाइपले हान्दा बुवाको मृत्यु

पालिका डायरी
२१ असार २०८३, ११:०१

धादिङको गंगाजमुना गाउँपालिका-४, यार्सा टोलमा छोराको प्रहारबाट बुवाको ज्यान गएको छ । आफ्नै छोराले फलामको पाइपले हान्दा ६० वर्षीय धननारायण सुनारको मृत्यु भएको हो ।

प्रारम्भिक जानकारीअनुसार शनिबार अपराह्न घरायसी विषयमा विवाद चर्किएपछि ३५ वर्षीय सुजन सुनारले बुबालाई फलामको पाइपले हानेका थिए । टाउकोमा गम्भीर चोट लागेका धननारायणलाई तत्काल उपचारका लागि फूलखर्क ग्रामीण अस्पताल लगिए पनि उपचारका क्रममा शनिबारै साँझ मृत्यु भएको चिकित्सकले बताएका छन् ।

स्थानीय जनप्रतिनिधिका अनुसार सुजन लामो समयदेखि मानसिक स्वास्थ्य समस्यासँग जुधिरहेका छन् । यसअघि पनि उनले परिवारभित्र असामान्य र आक्रामक व्यवहार देखाउने गरेका कारण वडा कार्यालयले परिवारलाई आवश्यक परामर्श र सहयोग लिन पटकपटक आग्रह गरेको थियो । तर त्यसलाई प्रभावकारी रूपमा अगाडि बढाउन नसकिएको स्थानीयको भनाइ छ । घटना भएको केही बेरमै स्थानीय युवा र जनप्रतिनिधिको सहयोगमा सुजनलाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाइएको छ ।

हाल उनी जिल्ला प्रहरी कार्यालय धादिङको हिरासतमा छन् । मृतकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल धादिङ पठाइएको छ । घटनाको कारण र अन्य पक्षबारे प्रहरीले थप अनुसन्धान अघि बढाइएको जनाएको छ ।

प्रतिक्रिया