प्लाष्टिकको झोला प्रयोगमुक्त अभियानलाई निरन्तरता दिन्छौं : नगरप्रमुख लामा

पालिका डायरी
१८ असार २०८३, १८:४५

हेटौंडा / हेटौंडाउपमहानगरपालिकाकी नगरप्रमुख मीना कुमारी लामाले हेटौंडालाई पातलो प्लाष्टिकको झोला प्रयोगमुक्त बनाउने अभियानलाई निरन्तरता दिइने बताएकी छन् । वातावरण संरक्षण र स्वच्छ सहर निर्माणका लागि प्लाष्टिकको प्रयोग न्यूनीकरण अपरिहार्य रहेको उल्लेख गर्दै उनले ४० माइक्रोनभन्दा पातलो प्लाष्टिक झोलाको प्रयोग नियन्त्रण गर्न उपमहानगरपालिकाले निरन्तर पहल गर्ने बताएकी हुन् ।  बिहीबार (आज) हेटौंडा उपमहानगरपालिका–७ नम्बर वडालाई ४० माइक्रोनभन्दा पातलो प्लाष्टिक झोलाको प्रयोगमुक्त वडा घोषणा गर्ने कार्यक्रममा बोल्दै नगरप्रमुख लामाले ७ नम्बर वडाबाट सुरु भएको अभियान क्रमशः उपमहानगरपालिकाका सबै वडामा विस्तार गरिने जानकारी दिइन् ।

बागमती प्रदेशमै पहिलो पटक हेटौंडा–७ लाई ४० माइक्रोनभन्दा पातलो प्लाष्टिक झोला प्रयोगमुक्त वडा घोषणा गर्न पाएको उल्लेख गर्दै उनले प्लाष्टिकजन्य प्रदूषणले वातावरणसँगै मानव जीवनमा समेत गम्भीर चुनौती सिर्जना गरिरहेको बताइन् ।
बागमती प्रदेशमै पहिलो पटक हेटौंडा–७ लाई ४० माइक्रोनभन्दा पातलो प्लाष्टिकमुक्त वडा घोषणा गर्न पाउनु महत्वपूर्ण विषय भएको बताउँदै नगरप्रमुख लामाले भनिन्, ‘हाम्रो जीवनसँग जोडिएको वातावरणको विषयमा चर्चा गर्ने हो भने प्लाष्टिक प्रयोगको असरले जनजीवनमै चुनौती दिइरहेको छ । यही चुनौतीलाई चिर्न हामीले यो प्रयास थालेका हौँ ।’
प्लाष्टिकको झोला प्रयोगको अन्त्य गर्न वडाभरका महिला, विद्यार्थी, टोल विकास संस्था, आमा समूहहरुको भूमिका महत्वपूर्ण रहने नगरप्रमुख लामाको भनाइ छ । ७ नम्बर वडालाई नमूना वडा बनाउन अन्य योजनाहरु समेत सञ्चालन भैरहेको उनले बताइन् ।

हेटौंडा उपमहानगरपालिका–७ नम्बर वडा कार्यालयको आयोजना तथा डिभिजन वन कार्यालय मकवानपुरको सहकार्यमा सञ्चालित ‘एक जिल्ला, एक वडा प्लाष्टिक मुक्त’ अभियान अन्तर्गत आयोजित कार्यक्रममा ४० माइक्रोनभन्दा पातलो प्लाष्टिक झोलाको प्रयोगमुक्त वडा निर्माण गर्ने प्रतिबद्धता जनाइएको छ ।
बागमती प्रदेशको वन तथा वातावरण मन्त्रालयको योजनाअन्तर्गत सञ्चालन गरिएको उक्त अभियानमा सहभागी अतिथि, जनप्रतिनिधि, टोलवासी, स्थानीय नागरिक तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूले वातावरण संरक्षण र प्लाष्टिकजन्य प्रदूषण न्यूनीकरणका लागि ४० माइक्रोनभन्दा पातलो प्लाष्टिक झोलाको प्रयोग नगर्ने तथा यसको प्रयोग निरुत्साहित गर्न सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धतासहित हस्ताक्षर गरेका छन् ।

कार्यक्रममा प्लाष्टिकको प्रयोग घटाई स्वच्छ, हरित र वातावरणमैत्री समाज निर्माणका लागि सबै पक्षको साझा प्रयास आवश्यक रहेकोमा जोड दिँदै अभियानलाई समुदायस्तरसम्म प्रभावकारी रूपमा विस्तार गरिने जनाइएको छ । प्लाष्टिकजन्य प्रदूषण न्यूनीकरण, वातावरण संरक्षण तथा वैकल्पिक सामग्रीको प्रयोगलाई प्रोत्साहन गर्ने अभियानलाई प्रभावकारी रूपमा अघि बढाइने जनाइएको छ ।
प्रतिबद्धतापत्रमा कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका वन तथा वातावरण मन्त्री भरतबहादुर केसी, विशेष अतिथि जिल्ला समन्वय समिति मकवानपुरका संयोजक ललित घलान, हेटौंडा उपमहानगरपालिकाकी मेयर मिनाकुमारी लामा, हेटौंडा–७ का वडा अध्यक्ष दामोदर गौतम लगायत उपस्थित अन्यले समेत हस्ताक्षर गरेका थिए । यस अभियानमार्फत पातलो प्लाष्टिक झोलाको प्रयोग निरुत्साहित गर्दै स्वच्छ, हरित र प्लाष्टिकमुक्त हेटौंडा निर्माण गर्ने लक्ष्य लिइएको बताइएको छ ।

प्रतिक्रिया