बागमती कांग्रेसको विवाद मिलाउन महामन्त्री घिमिरे हेटौँडामा, आएनन् लामा पक्षका सांसद

पालिका डायरी
२० असार २०८३, १३:०२
बागमती कांग्रेसको विवाद मिलाउन महामन्त्री घिमिरे हेटौँडामा, आएनन् लामा पक्षका सांसद

नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठक सुरु भएको छ। बजेट विवादका कारण कांग्रेसभित्र देखिएको विवाद मिलाउन बैठक सुरु भएको हो।

नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेको विशेष रूपमा सहभागी भएका छन्। बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि प्रस्तुत गरेको बजेटका विषयमा नेपाली कांग्रेसभित्र मतभेद भएपछि संसदीय दलको बैठक बोलाइएको हो।

बजेटमा योजना वितरण, क्षेत्रगत प्राथमिकता तथा मन्त्रालयगत विनियोजनका विषयमा केही सांसदले असन्तुष्टि जनाएपछि दलभित्र छलफलको आवश्यकता देखिएको थियो।पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा समूहले बजेटमा आफ्ना क्षेत्रका योजनालाई पर्याप्त प्राथमिकता नदिएको भन्दै संशोधनको माग गर्दै आएको छ।

यद्यपि सो समूहका नेताहरूले नेतृत्व परिवर्तनको कुनै एजेन्डा नरहेको र मतभेद बजेट व्यवस्थापनसँग मात्रै सम्बन्धित रहेको सार्वजनिक रूपमा बताउँदै आएका छन्। यता मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ पक्षले पनि दलभित्र देखिएका असन्तुष्टिलाई संवादमार्फत समाधान गर्दै बजेटलाई सर्वसम्मत ढंगले अघि बढाउने तयारी गरेको जनाएको छ।

यही उद्देश्यका साथ संसदीय दलको बैठकमा बजेटसँग सम्बन्धित विवाद, सांसदहरूको सुझाव तथा आगामी रणनीतिबारे विस्तृत छलफल भइरहेको बताइएको छ। बैठकमा उपस्थित सबै सांसदहरूबीच एकताबद्ध भएर अघि बढ्ने वातावरण बनाउने, बजेटसम्बन्धी असन्तुष्टिको सम्बोधन गर्ने तथा प्रदेश सरकारको कामकारबाहीलाई प्रभावकारी बनाउने विषयमा सहमति जुटाउने प्रयास भइरहेको नेताहरूले बताएका छन्।

यसअघि सत्तारुढ दलकै केही सांसद सदनमा अनुपस्थित भएपछि बजेट पारित गर्ने कार्यसूची प्रभावित बनेको थियो। त्यसपछि उत्पन्न राजनीतिक परिस्थितिलाई सहज बनाउन र दलभित्रको मतभेद अन्त्य गर्ने उद्देश्यले संसदीय दलको बैठक बोलाइएको हो।

बागमतीमा कांग्रेसभित्र दुईधार छ। संसदीय दलको बैठकमा कांग्रेसका सबै सांसदलाई उपस्थित हुन निर्देशन दिए पनि लामा र उनी निकट केही सांसद उपस्थित भएका छैनन्। संसदीय दलका नेता तथा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको अध्यक्षतामा बसेको दलको बैठक जारी छ।

प्रतिक्रिया