मनहरीमा करेन्ट लागेर एक जनाको मृत्यु
हेटौँडा / मकवानपुरको मनहरी गाउँपालिका–६ कोलाघारीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मनहरी गाउँपालिका–६ कोलाघारी निवासी करिब ३९ वर्षीय मङ्गल बहादुर प्रजा रहेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार (हिजो) शनिबार साँझ करिब ५ः१० बजे सोही स्थानको प्रतापपुरका सुरेश मोक्तानको निर्माणाधीन नयाँ घरमा ढोका जडान गर्ने क्रममा ढोकामा ड्रिल गर्दै गर्दा उनलाई एक्कासी करेन्ट लागेको थियो ।
करेन्ट लागेर गम्भीर घाइते भएका प्रजालाई उनकी श्रीमती रस्तीमाया प्रजाले तत्काल मनहरी अस्पताल पुर्याएकी थिइन् । मनहरी अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि हेटौँडा अस्पताल पठाइएको थियो । तर उपचारकै क्रममा साँझ ६ः५५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
मृतकको शव हाल हेटौँडा अस्पतालमा राखिएको छ । घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी सुनाचुरीबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको मकवानपुर प्रहरीले जनाएको छ ।



