हेटौँडा–१५ मा नकआउट फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा चुरियामाई–५ को विजयी सुरुवात

पालिका डायरी
२९ जेष्ठ २०८३, १०:००

हेटौँडा/  हेटौँडा उपमहानगरपालिका–१५ अन्तर्गतका साविक वडा नं. ३ देखि ९ सम्मका टोलीहरूको सहभागितामा आयोजित नकआउट फुटबल प्रतियोगिता हिजो औपचारिक रूपमा सुरु भएको छ। स्थानीय खेलकुद विकास, युवाहरूबीच आपसी सद्भाव तथा सामाजिक एकतालाई प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो।

प्रतियोगिताको उद्घाटन खेलमा साविक चुरियामाई–५ र चुरियामाई–८ बीच प्रतिस्पर्धा भएको थियो। निकै प्रतिस्पर्धात्मक खेलमा चुरियामाई–५ ले चुरियामाई–८ लाई १–० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ। खेलभर दुवै टोलीले उत्कृष्ट प्रदर्शन गरे पनि चुरियामाई–५ ले गरेको एकमात्र गोल नै निर्णायक बनेको थियो।

प्रतियोगिताको उद्घाटन समारोह हेटौँडा–१५ टोल समन्वय समितिका अध्यक्ष सिंह विश्वकर्माको सभाध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा हेटौँडा उपमहानगरपालिका–१५ का वडा अध्यक्ष सुनिल मुक्तान प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए।

त्यसैगरी वडा सदस्यहरू सिंहबहादुर लो, मिनु विश्वकर्मा, पातलीमाया गोम्बालगायत स्थानीय जनप्रतिनिधि, सामाजिक व्यक्तित्व, खेलप्रेमी तथा स्थानीय बासिन्दाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। हेटौँडा–१५ को रातोमाटे परिसरमा आयोजित उद्घाटन कार्यक्रममा वक्ताहरूले खेलकुदले युवाहरूलाई अनुशासित, स्वस्थ र सकारात्मक दिशातर्फ उन्मुख गराउने भएकाले यस्ता प्रतियोगिताहरूलाई निरन्तरता दिनुपर्ने धारणा व्यक्त गरेका थिए।

आयोजकका अनुसार प्रतियोगितामा साविकका विभिन्न वडाका टोलीहरूको सहभागिता रहेको छ। नकआउट प्रणालीमा सञ्चालन हुने प्रतियोगिताका आगामी खेलहरू थप प्रतिस्पर्धात्मक र रोमाञ्चक हुने अपेक्षा गरिएको छ।

स्थानीय स्तरमा खेलकुद गतिविधिलाई थप चलायमान बनाउने विश्वासका साथ सुरु गरिएको यस प्रतियोगिताले हेटौँडा–१५ भित्रका युवाहरूबीच भाइचारा, एकता र खेल संस्कृतिको विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा आयोजकले गरेका छन्।

प्रतिक्रिया