हेटाैंडाकी रोसमेरीले जितिन ग्राण्ड एसईई अवार्ड 

पालिका डायरी
२८ जेष्ठ २०८३, १९:४४

हेटौँडा / विद्यालय शिक्षाको पहिलो गेट मानिने एसईई परीक्षा उत्तीर्ण गरेका विद्यार्थीहरूबीचको प्रतिस्पर्धामा हेटौँडा–७ की रोजमेरी थिङ विजयी भएकी छन्।

काठमाडौंमा सिल्भर इन्टरटेन्मेन्टद्वारा आयोजित ग्रान्ड एसईई अवार्ड–२०२६ मा सहभागीहरूलाई पछि पार्दै उनले ग्रान्ड मिस एसईईको उपाधि जितेकी हुन्। निर्णायकहरूले व्यक्तित्व, प्रस्तुति कला, आत्मविश्वास, प्रतिभा प्रदर्शन तथा समग्र क्षमताका आधारमा विजेताहरू छनोट गरेका थिए।

विभिन्न चरणका प्रतिस्पर्धापछि उत्कृष्ट प्रदर्शन गर्ने सहभागीहरूलाई ताज, पदक, स्यास तथा सम्मानपत्र प्रदान गरिएको थियो। हेटौँडा–७ स्थित तासिर इङ्गलिस बोर्डिङ स्कुलबाट एसईई परीक्षा उत्तीर्ण गरेकी उनले उपाधिसहित नगद ५० हजार रुपैयाँ प्राप्त गरिन्।

विजेता बनेकी थिङले निःशुल्क दुईवर्षे होस्टेल सुविधा, दुईवर्षे कलासम्बन्धी तालिमसहितका पुरस्कार पनि हात पारेकी छन्। अध्ययनसँगै कला क्षेत्रमा पनि लगाव रहेको बताउने उनी करियरमा दुवै पक्षलाई समेटेर अघि बढ्ने बताउँछिन्। एसईई उत्तीर्ण विद्यार्थीहरूमा रहेको प्रतिभा, आत्मविश्वास, व्यक्तित्व विकास तथा नेतृत्व क्षमतालाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।

समारोहको आकर्षणका रूपमा विजेतालाई ताज पहिर्याउने विशेष क्षण रहेको थियो। सहभागीहरूले विभिन्न राउण्डमा आफ्नो क्षमता प्रस्तुत गर्दै दर्शक तथा निर्णायकहरूको मन जितेका थिए। कार्यक्रममा सांस्कृतिक प्रस्तुति, फेसन शो तथा मनोरञ्जनात्मक कार्यक्रमसमेत समावेश गरिएको थियो।

प्रतिक्रिया