पाँच वर्षमा बन्यो २५० किलोमिटर कङ्क्रिट सडक
हेटौँडा / हेटौँडा उपमहानगरपालिकाले नगरवासीलाई सहज यातायात सुविधा प्रदान गर्न सडक पूर्वाधारमा लगानी गरेको छ। उपमहानगर बन्ने क्रममा गाभिएका तत्कालीन पाँच गाउँपालिकालाई लक्षित गर्दै सडक निर्माणमा लगानी गरिएको हो।
उपमहानगरमा पछि जोडिएका हटिया, हर्नामाडी, चुरियामाई, पदमपोखरी र बासामाडीका नगरवासीलाई सहज सडक सञ्जालसँग जोड्न आर्थिक वर्ष २०७७/०७८ देखि २०८१/०८२ सम्म २४८ दशमलव ५४ किलोमिटर सडक निर्माण गरिएको हो।
उपमहानगरका यी क्षेत्रमा रहेका कच्ची सडकलाई स्तरोन्नति गर्दै पछि कङ्क्रिट (स्ल्याब) ढलान गरी जनतालाई सहज यातायात सेवा पुर्याउने काम गरिएको योजना कार्यान्वयन शाखाले जनाएको छ। शाखाको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७७/०७८ मा ४१ दशमलव ७१, २०७८/०७९ मा ५२ दशमलव ७१, २०७९/०८० मा ७३ दशमलव १९, २०८०/०८१ मा ५६ दशमलव २८ र २०८१/०८२ मा २५ किलोमिटर सडकमा कङ्क्रिट ढलान गरिएको छ।
त्यस्तै, उपमहानगर क्षेत्रमा पाँच वर्षको अवधिमा ७ दशमलव ९७ किलोमिटर सडक कालोपत्रे गरिएको शाखाले जनाएको छ। तथ्याङ्कअनुसार २०७७/०७८ मा १ दशमलव ५, २०७८/०७९ मा १ दशमलव ५, २०७९/०८० मा २ दशमलव २५, २०८०/०८१ मा २ दशमलव २५ र २०८१/०८२ मा ४७ मिटर सडक कालोपत्रे गरिएको छ।
शाखाका अनुसार पाँच वर्षको अवधिमा ५ दशमलव ८८ किलोमिटर ट्र्याक खोलिएको छ भने १३ वटा कल्भर्ट निर्माण तथा ११ दशमलव १० किलोमिटर सडकमा ग्राभेल गरिएको छ। पाँच वर्षको अवधिमा ४४ वटा खानेपानी, १४१ वटा शैक्षिक, ४८ वटा पर्यटन, ११५ वटा स्वास्थ्यसम्बन्धी पूर्वाधार निर्माण भएका छन्। त्यस्तै ७९ वटा गुम्बा, २७२ वटा मन्दिर, ६१ वटा तटबन्धन, १९ वटा सिँचाइ, ४५ वटा शौचालय तथा ६३ वटा सामुदायिक भवन निर्माण गरिएको शाखा प्रमुख किरण थापाले जानकारी दिए।
उपमहानगरले पानीको निकासका लागि पाँच वर्षको अवधिमा ४५ वटा ढल तथा नाला निर्माण गरेको छ। उपमहानगरलाई व्यवस्थित र सुदृढ बनाउन समग्र विकासका क्षेत्रमा काम गरिरहेको नगर प्रमुख मीनाकुमारी लामाले बताइन्।
उनले भनिन्, “विशेष गरी स्वास्थ्य र शिक्षाका पूर्वाधार निर्माणमा चासोका साथ काम गरेका छौँ। यसले उपमहानगरका बासिन्दालाई गुणस्तरीय स्वास्थ्य सेवा र शिक्षा दिलाउन मद्दत पुग्ने विश्वास हामीले लिएका छौँ।”
जनशक्ति पर्याप्त रहे पनि पूर्वाधारको अभावका कारण स्वास्थ्य र शिक्षामा देखिएको समस्या समाधान गर्न प्रयत्नशील रहेको उनले बताइन्। अहिले नगरमा खानेपानी व्यवस्थापनका लागि उपमहानगर आफैँ र सहलगानीमार्फत पूर्वाधार विकासको काम गरिरहेको नगर प्रमुख लामाको भनाइ छ।
सडक निर्माणमा कालोपत्रेभन्दा कङ्क्रिट सडकमा नगरले जोड दिएको उनले बताइन्। भौगोलिक बनावटका कारण उपमहानगरले स्ल्याब ढलानलाई प्राथमिकता दिएको उनको भनाइ थियो।
सडक सञ्जालदेखि समग्र रूपमा नगरको पूर्वाधार विकासका काम भइरहेको उल्लेख गर्दै नगर प्रमुख लामाले भनिन्, “व्यवस्थित र सुन्दर सहर बनाउन हामी प्रयत्नशील छौँ।”



