इन्द्रसरोवरमा सुमो र बोलेरो ठोक्किँदा १४ जना घाइते, ४ जनाको अवस्था गम्भीर

पालिका डायरी
२३ जेष्ठ २०८३, १८:५३
इन्द्रसरोवरमा सुमो र बोलेरो ठोक्किँदा १४ जना घाइते, ४ जनाको अवस्था गम्भीर

हेटौंडा /  मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-३ धारा ढोला (खोल्सा) स्थित आज शनिबार दिउँसो भएको सवारी दुर्घटनामा १४ जना घाइते भएका छन् ।

शनिबार करिब १२ः३० बजेको समयमा हेटौंडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना १ ज ७२०७ नम्बरको सुमो र विपरीत दिशाबाट आउँदै गरेको वि ए ए ९७६८  नम्बरको बोलेरो एकापसमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि दुवै सवारी साधनमा सवार चालकसहित १४ जनाको उद्धार गरी उपचारका लागि काठमाडौं पठाइएको छ । प्रारम्भिक जानकारीअनुसार घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको छ भने १० जनाको अवस्था मध्यम रहेको मकवानपुर प्रहरीले जानकारी दिएकाे छ । साथै  सुमो चालक काठमाडौंको चन्द्रागिरि नगरपालिका–१४ निवासी अन्दाजी ४५ वर्षीय मनोज श्रेष्ठ प्रहरी नियन्त्रणमा रहेका छन् ।

घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय भिमफेदी मकवानपुरबाट प्रहरी निरीक्षकको कमाण्डमा ट्राफिक प्रहरीसहितको टोली घटनास्थलतर्फ खटिएको थियो । दुर्घटनामा संलग्न दुवै सवारी साधन घटनास्थलमै रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनाको कारण तथा घाइतेहरूको विस्तृत विवरण खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया