हेटौंडाका १२ वडामा समुदायस्तरीय कानुनी सचेतना कार्यक्रम सम्पन्न

पालिका डायरी
१० जेष्ठ २०८३, १५:०५
हेटौंडाका १२ वडामा समुदायस्तरीय कानुनी सचेतना कार्यक्रम सम्पन्न

टोल विकास संस्था नगर समन्वय समितिको आयोजना तथा हेटौंडा उपमहानगरपालिका न्यायिक समितिको सहयोगमा समुदायस्तरीय कानुनी सचेतना कार्यक्रम  सम्पन्न भएको छ ।

उक्त कार्यक्रम हेटौंडा उपमहानगरपालिकाका वडा नं. १, ३, ४, ६, ७, ८, ९, ११, १३, १४, १५ र १९ गरी १२ वटा वडामा सम्पन्न गरिएको आयोजकले जनाएको छ। कार्यक्रमको व्यवस्थापन सम्बन्धित वडा समन्वय समिति तथा स्थानीय टोल विकास संस्थाहरूले गरेका थिए । कार्यक्रममार्फत समुदायमा हुने सामाजिक विवाद, घरेलु झैझगडा, मेलमिलाप, न्यायिक प्रक्रिया, नागरिक अधिकार तथा कर्तव्य, सामाजिक उत्तरदायित्व, साइबर अपराध, महिला तथा बालअधिकार लगायतका विषयमा सहभागीहरूलाई जानकारी प्रदान गरिएको थियो ।

टोल-टोलमा हुने सामान्य प्रकृतिका विवादहरूलाई समुदायस्तरमै संवाद, सहकार्य र कानुनी प्रक्रियामार्फत कसरी समाधान गर्न सकिन्छ भन्ने विषयमा समेत प्रशिक्षण तथा अन्तरक्रिया गरिएको थियो ।
कार्यक्रममा बोल्दै हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख एवं न्यायिक समिति संयोजक राजेश बाँनियाले समाजमा बढ्दै गइरहेका सामाजिक तथा पारिवारिक विवाद न्यूनीकरण गर्न यस्ता सचेतनामूलक कार्यक्रम प्रभावकारी हुने बताए । बाँनियाले समुदायमा कानुनी चेतना अभिवृद्धि गर्नु आजको आवश्यकता भएको उल्लेख गर्दै स्थानीय स्तरमा मेलमिलाप र सहकार्यको संस्कृतिलाई बलियो बनाउनुपर्ने धारणा व्यक्त गरे । उनले धेरै विवाद समयमै संवाद र समझदारीमार्फत समाधान गर्न सकिने बताउँदै टोल विकास संस्थाहरूलाई सामाजिक सद्भाव, एकता र समुदायस्तरको नेतृत्व विकास गर्ने महत्वपूर्ण आधारका रूपमा अघि बढाउनुपर्ने बताउए  ।

त्यसैगरी टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष ध्रुव प्रसाद अधिकारीले समुदायमा कानुनी ज्ञान र सचेतनाको अभावका कारण सामान्य विवादले समेत जटिल रूप लिने गरेको उल्लेख गरे । अधिकारीले यस्ता कार्यक्रमले समाजलाई सकारात्मक दिशा प्रदान गर्नुका साथै जिम्मेवार नागरिक निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे  । अध्यक्ष अधिकारीले टोल विकास संस्थाहरूलाई समुदाय परिवर्तनको आधारशक्तिका रूपमा विकास गर्दै सामाजिक उत्तरदायित्व, सहकार्य, मेलमिलाप र सकारात्मक सामाजिक संस्कार निर्माणमा सक्रिय बनाइनुपर्ने धारणा व्यक्त गरे ।

कार्यक्रममा विभिन्न टोल विकास संस्था, वडा समन्वय समिति, महिला समूह, नारी समाजका अगुवा व्यक्तित्व, युवा, अभिभावक तथा स्थानीय नागरिकहरूको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रममा न्यायिक समितिका सदस्य ज्ञान बहादुर थापा, अधिवक्ता सुजन तिमल्सिना, अमृत बर्तौला, सन्तोष पौडेल लगायतले सहजिकरण गरेका थिए ।

प्रतिक्रिया