सांसद आशिका तामाङ फेरि विवादमा, हेपेको भन्दै गाउँपालिका अध्यक्षलाई हप्काइन्
प्रतिनिधि सभा सदस्य आशिका तामाङले धादिङको थाक्रे गाउँपालिकाका अध्यक्ष रामकुमार आचार्यलाई आफूलाई हेपेको भन्दै हप्काएकी छन्।
धादिङको थाक्रे गाउँपालिका-७ मा रहेको ढुंगाखानीमा खसेको ढुंगाले लागेर मृत्यु भएका चालक दीपेन्द्र खत्रीको घरमा पुगेकी तामाङले अध्यक्ष आचार्यलाई हप्काएकी हुन्। दीपेन्द्रको घरमा पुगेका सांसद र गाउँपालिका अध्यक्ष आचार्यबीच विवाद भएको हो।
सांसद तामाङले ढुंगाखानी बन्द नगरिएको कारण यस्तो घटना घटेको बताएकी थिइन्। उनले अध्यक्ष आचार्यलाई ‘तपाईँहरूकै कारण दीपेन्द्रको मृत्यु भएको’ भन्दै हप्काएको भिडिओ सामाजिक सञ्जालमा भाइरल बनेको छ। तामाङकै फेसबुक पेजमा राखिएको भिडिओमा उनले गाउँपालिका अध्यक्ष आचार्यलाई मृतक दीपेन्द्रको परिवारसँग माफी माग्न दबाब दिइरहेको देखिन्छ।
‘तपाईँहरूको मिलेमतो छ यसमा। मैले त अस्ति नै क्रसर, ढुंगाखानीहरू बन्द गर्न निर्देशन दिएको थिएँ,’ सांसद तामाङले औँला तेर्स्याउँदै भनेकी छन्, ‘सीडीओलाई भनेर खानी बन्द गराउन कति पटक भनेँ मैले। सानो मान्छे देखेर हेपेको कि के भनेर हेपेको तपाईहरूले? के कुराले हेपेको तपाईँले?’
थाक्रे गाउँपालिकाका अध्यक्ष आचार्यले यसमा आफ्नो कुनै गल्ती नभएको बताएका छन्। सोही विवादका क्रममा सांसद तामाङलाई जवाफ दिदैँ उनले खानी सञ्चालन गर्न गाउँपालिकाले कुनै स्वीकृती प्रदान नगरेको स्पष्ट पारेका छन्।
विवाद चर्किएपछि मृतक दीपेन्द्रको घरबाट निस्किएका अध्यक्ष आचार्यलाई ‘समातेर राख्नोस् है’ भन्दै तामाङले स्थानीय बासिन्दालाई अनुरोध गरेको समेत भिडिओमा देखिन्छ। थाक्रे गाउँपालिका-७ राम्चेमा बज्रकाली ढुंगा रोडा उद्योगमा ढुंगा लोड गर्न गएको बा ५ ख ८५८० नम्बरको ट्रिपरमाथि ढुंगा खस्दा चालक २७ वर्षका दीपेन्द्रको शुक्रबार घटनास्थलमै मृत्यु भएको थियो। शनिबार बिहान मृतकको परिवार भेट्न पुगेका उनीहरूबीच विवाद भएको हो।



