सीप र बजारको माग अनुसार काम गरे सफलता मिल्छ : मेयर लामा
हेटौंडा / हेटौंडा उपमहानगरपालिकाकी मेयर मीना कुमारी लामाले मानिसको योग्यता, क्षमता र बजारको मागलाई ध्यानमा राखेर काम गर्न सके सफलता हासिल गर्न सकिने बताएकी छन् । बुधबार आज गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमअन्तर्गत सञ्चालन गरिएको ‘साइपाटा सेट’ सजाउने तालिम समापन कार्यक्रममा बोल्दै उनले योग्यता, क्षमता र बजारको मागलाई ध्यानमा राखेर काम गर्न सके सफलता हासिल गर्न सकिने बताएकी हुन्। बेरोजगार नागरिकलाई रोजगारी र स्वरोजगारसँग जोड्न हेटौंडा उपमहानगरपालिका सक्रिय रूपमा लागिरहेको उनको भनाइ छ ।
“मानिसको योग्यता, क्षमता र बजारको मागलाई हेरेर काम गर्न सकियो भने सफलता मिल्छ,” उनले भनिन्, “बेरोजगार नागरिकलाई रोजगार बनाउन अनेकन उपायसहित हेटौंडा उपमहानगरपालिका सक्रिय बनेको छ ।” मेयर लामाले तालिममा सहभागी दिदीबहिनीहरूले प्राप्त सीपलाई स्वरोजगार र आर्थिक उपार्जनसँग जोडेर सफल बन्ने विश्वास व्यक्त गरिन् । उनले यस्ता सीपमूलक तालिमले महिलाहरूको आत्मनिर्भरता बढाउनुका साथै स्थानीय स्तरमै रोजगारी सिर्जना गर्न सहयोग पुग्ने बताइन् ।
हेटौंडा–५ नम्बर वडा कार्यालयमा सञ्चालन भएको तालिममा स्थानीय महिलाले साइपाटा, शुभकार्यमा प्रयोग गरिने डालो, छाता, किस्ती बनाउन सिकेका थिए । कार्यक्रममा सहभागीहरूले सिकेको सीपलाई व्यवहारमा उतार्दै उद्यमशीलता विकासतर्फ अघि बढ्ने प्रतिबद्धता जनाए ।



