खेलकुदले युवामा ऊर्जा भर्छः मेयर लामा
हेटौंडा उपमहानगरपालिकाकी मेयर मीना कुमारी लामाले खेलकुदले युवामा ऊर्जा, अनुशासन र आत्मविश्वास भरिने बताएकी छन्। सोमबार (आज) मकवानपुर जिल्ला खेलकुद विकास समितिको आयोजनामा सुरु भएको १६ औं राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिताको उद्घाटन कार्यक्रममा बोल्दै मेयर लामाले युवालाई खेलकुदले ऊर्जा भर्ने बताएकी हुन् । खेलकुद मार्फत राष्ट्र निर्माणमा युवाको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै उनले युवालाई खेल क्षेत्रमा अनुशासित भएर लाग्न आग्रह गरिन् ।
उनले खेलकुदलाई स्वस्थ, अनुशासित र जिम्मेवार समाज निर्माणको आधारका रूपमा व्याख्या गर्दै विद्यालय तहदेखि नै खेल गतिविधिलाई प्राथमिकता दिनुपर्नेमा जोड दिइन् । युवालाई कुलत र विकृतिबाट टाढा राख्न खेलकुद प्रभावकारी माध्यम बन्न सक्ने उनको भनाइ थियो ।
मेयर लामाले प्रतियोगितामा सहभागी सम्पूर्ण खेलाडीलाई उत्कृष्ट प्रदर्शनका लागि शुभकामना दिँदै खेल भावना, अनुशासन र प्रतिस्पर्धात्मक क्षमतासहित अघि बढ्न आग्रह गरिन् । प्रतियोगिता आयोजना गरेकोमा मकवानपुर जिल्ला खेलकुद विकास समिति, प्रशिक्षक, शिक्षक तथा सहयोगी सबै पक्षप्रति धन्यवाद व्यक्त गर्दै उनले यस्ता प्रतियोगिताले जिल्लामा खेलकुद क्षेत्रको विकास र प्रतिभा पहिचानमा टेवा पुग्ने विश्वास व्यक्त गरिन् । जिल्ला स्तरीयबाट प्रदेश स्तरीय खेलका लागि छनोट हुने सबै खेलाडीलाई अग्रिम शुभकामना समेत दिइन् ।



