कक्षा ९ को अनुमति पाएको मकवानपुर माविको चर्चा, के हो वास्तविकता ?
पछिल्लो समय हेटौंडामा मकवानपुर माध्यामिक विद्यालय सञ्चालनको विषयले चर्चा पाइरहेको छ । यही वैशाख ११ गतेको मितिमा हेटौंडा उपमहानगरपालिकाको शिक्षा विकास महाशाखाका नि. प्रमुख हरिचन्द्र सापकोटाले हस्ताक्षर गरेको पत्र सार्वजनिक भएसँगै यस विषयले चर्चा पाएको हो । पत्रमा मकवानपुर माध्यामिक विद्यालय कक्षा–९ सञ्चालनका लागि अनुमति प्रदान गरिएको उल्लेख छ ।
पत्रमा शिक्षा विकास महाशाखाले अनुमति दिँदा केही शर्तहरू अनिवार्य रूपमा पालना गर्नुपर्ने उल्लेख गरेको छ। विद्यालयले पालना गर्नुपर्ने सबै शर्त तथा बन्देजहरू अनिवार्य रूपमा लागू गर्नुपर्ने बताइएको छ भने विद्यालय नक्साङ्कनमा नपरेमा अनुमति स्वतः बदर हुने जनाएको छ । विद्यालय सञ्चालनसँग सम्बन्धित सम्पूर्ण खर्च निजी स्रोतबाट व्यहोर्नुपर्ने तथा विद्यालय शुल्क मापदण्ड निर्देशिका, २०७२ मा उल्लेखित प्रावधानहरू पूर्ण रूपमा पालना गर्नुपर्ने भन्दै चालु शैक्षिक सत्र २०८३ बाट नै कक्षा ९ को लागि अनुमति प्रदान गरिएको उल्लेख गरिएको हो ।
मकवानपुर क्याम्पसले नै सञ्चालन गर्नेगरी मकवानपुर माध्यामिक विद्यालय सञ्चालनको अनुमति प्रदान गरेपछि सरोकारवाला निकायहरुले यस विषयमा चासो देखाएका हुन् । पछिल्लो समय सामुदायिक विद्यालयहरु मर्ज गरेर नमूना विद्यालय सञ्चालन गर्ने अवधारणा चलिरहेका बेला क्याम्पसले कक्षा ९ बाट अध्ययन गराउन खोज्नु गलत भएको बताइएको छ ।
कक्षा ९ बाट अध्ययन गराउनका लागि कक्षा ८ सम्म पढेका विद्यार्थी कहाँबाट ल्याउने ? मकवानपुर क्याम्पससँगै पर्खाल जोडिएको सिद्धार्थ माध्यामिक विद्यालयलाई नै बलियो बनाएर लैजान पर्नेमा उपमहानगरपालिकाले नै किन अधिकार खोस्न खोजेको ? जस्ता प्रश्नहरु उठेका छन् । मकवानपुर क्याम्पस जस्तो प्रतिष्ठित शैक्षिक संस्थाले माध्यामिक चलाउने भन्दा उच्च माध्यामिक तहलाई बलियो बनाएर लैजान पर्ने तर्क स्थानीयहरुको छ ।
के भन्छन् क्याम्पस प्रमुख ?
त्यसोत, मकवानपुर माध्यामिक विद्यालयको विषयमा चौतर्फी चर्चा चुलिएपछि मकवानपुर क्याम्पस प्रमुख यम सिलवालले सामाजिक सञ्जाल मार्फत नै प्रष्टिकरण दिएका छन् । प्रमुख सिलवालका अनुसार क्याम्पस स्थापना वि.सं. २०३७ मा आई कम तहबाट सुरु भई पछि उच्च माध्यमिक तह प्लस टू मा रूपान्तरण गरिएको थियो । हालको शिक्षा प्रणालीअनुसार कक्षा ९ देखि १२ सम्मलाई माध्यमिक तह मानिने भएकाले सोही अवधारणाअनुसार क्याम्पसले विद्यालय सञ्चालनको प्रक्रिया अघि बढाएको उनको भनाइ छ ।
उनका अनुसार हाल क्याम्पसमा कक्षा ११ र १२ सञ्चालनमा रहेका छन् भने नयाँ व्यवस्थाअनुसार वि.सं. २०८३ देखि कक्षा ९ समेत सञ्चालन गर्न हेटौंडा उपमहानगरपालिकाबाट अनुमति प्राप्त भएको हो । यस वर्ष कक्षा ९ मा सीमित संख्यामा भर्ना खुलाइने उनले बताए ।
क्याम्पसले क्याम्पसले विद्यालय सञ्चालन गर्न पाउँछ कि पाउँदैन भन्ने जिज्ञासाबारे स्पष्ट पार्दै नेपालभरका धेरै सामुदायिक क्याम्पसहरूले विद्यालय सञ्चालन गर्दै आएको सिलवालले बताए । काठमाडौँ विश्वविद्यालय अन्तर्गतको “काठमाडौँ युनिभर्सिटी हाई स्कुल” तथा त्रिभुवन विश्वविद्यालय अन्तर्गतको “ल्याबोरेटरी माध्यमिक विद्यालय” को उदाहरण दिँदै सिलवालले मकवानपुरमा पहिलो पटक अभ्यास थालिएको बताएका हुन् ।
यस्तै, अमेरिका तथा युरोपका विश्वविद्यालयहरूले समेत विद्यालय सञ्चालन गर्ने अभ्यास रहेको जनाउँदै क्याम्पस प्रमुख सिलवालले मकवानपुर बहुमुखी क्याम्पस पनि भविष्यमा विश्वविद्यालयमा रूपान्तरण हुने लक्ष्यका साथ आफ्नै विद्यालय सञ्चालनको अवधारणा अघि बढाइएको बताए । उनले विश्वविद्यालय तथा क्याम्पसहरूले कृषि फार्म, होटल, उद्योग, जलविद्युत आयोजना लगायतका कार्यक्रम सञ्चालन गर्ने अभ्यास रहेको उल्लेख गर्दै भविष्यमा क्याम्पसले पनि यस्ता कार्यक्रम सञ्चालन गर्न सक्ने सम्भावना रहेको बताए ।




