संसदीय समितिका सभापति टुंग्याउन रास्वपाले बोलायो संसदीय दलको बैठक
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक आज बस्दैछ । संसदीय समितिका सभापतिको टुंगो लगाउन रास्वपाले बैठक बोलाएको हो ।
सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बिहीबार दिउँसो १२ बजे बस्नेगरी बैठक बोलाइएको रास्वपा महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए । बुर्लाकोटीका अनुसार प्रधानमन्त्री तथा संसदीय दलका नेता बालेन शाहको सभापतित्वमा बैठक बस्ने छ ।
बैठकले संघीय संसद्को प्रतिनिधिसभा अन्तर्गतका (दुई वटा संयुक्तसहित) १२ संसदीय समितिको सभापतिको टुंगो लगाउने छ । महामन्त्री कबिन्द्र बुर्लाकोटीका अनुसार रास्वपाले ११ वटा समितिको सभापति आफूले नै राख्नेछ । अघिल्लो संसदमा रहेका सांसदलाई संसदीय समितिको सभापति बनाउन प्राथमिकतामा राखेको रास्वपाका नेताहरू बताउँछन् । सांसद मनिष झा, गणेश पराजुली, हरि ढकाल, तोसिमा कार्कीलगायत समितिको सभापति बन्ने चर्चा छ ।
महिला तथा सामाजिक मामिला समितिको सभापति महिला सांसदलाई नै बनाउने रास्वपाको तयारी छ । रास्वपाका सांसदलाई आफूले इच्छाएको समितिमा बस्नका लागि जानकारी गराउन भनिएको थियो । नयाँ र पुराना गरी ५० जनाभन्दा बढी सांसदले समितिको सभापतिका लागि इच्छा जाहेर गरेको रास्वपाका नेताहरू बताउँछन् । सांसदलाई विषयगत ज्ञान र आफ्नो इच्छा भएको समिति अनुसार जानकारी गराउन भनिएको थियो । रास्वपाबाट विषय विज्ञता र अनुभवका आधारमा संसदीय समितिको सभापति छनोट हुने महामन्त्री बुर्लाकोटीले बताए ।



