थाहामा बन्दै शंखमूल मोक्षधाम, शंखकै स्वरुपमा १०८ धारा
मकवानपुरको थाहा नगरपालिका धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा परिचित हुँदै गएको छ। थाहामा पौराणिक महत्त्व बोकेको ‘शंखमुल’ छ। हाल शंखमुल क्षेत्रमा मोक्षधाम निर्माण कार्य भइरहेको छ, जसले धार्मिक पर्यटन प्रबर्द्धनमा थप टेवा पग्ने अपेक्षा गरिएको छ।
गर्मी याममा शिथल हावापानीमा रमाउन आन्तरिक तथा बाह्य पर्यटक थाहा नगरपालिकामा रहेका सिमभञ्याङ, दामन, चित्लाङ जस्ता पर्यटकीय गन्तव्यमा पुग्ने गर्छन्। पर्यटकीयसँगै धार्मिक आस्थास्थलसमेत रहेको थाहामा शक्तिशाली शंखमूल रहेको छ।
पशुपतिनाथमा रहेको शंखमूल र मकवानपुरको थाहा नगरपालिकास्थित त्रिवेणी शंखमूल विश्वका प्रमुख तीन शक्तिशाली शंखमूल मध्येमा पर्छन्। नेपालमा कयौँ शंखमूलमध्ये यी दुई शंखमूलको पौराणिक महत्त्वबारे नेपाल महात्मे हिमवत खण्डमा उल्लेख भएको धार्मिक गुरुहरूको दाबी छ। विश्वका तीन प्रमुख शंखमूलमध्ये एउटा पशुपतिनाथमा, अर्को थाहामा र तेस्रो भारतमा रहेको उल्लेख छ।
यसरी विश्वकै प्रसिद्ध शंखमूलको संरक्षण र प्रवर्द्धन गरेर धार्मिक स्थलको रुपमा विकास गर्ने लक्ष्यसहित संरचना निर्माण सुरु गरिएको छ। ऐतिहासिक प्रमाणसहित शंखमूललाई विश्वमा चिनाउने गरी संरचना निर्माण भइरहेका छन्। मोक्षधाममा शंखकै आकारमा १०८ वटा धारा समेत निर्माण गर्न लागिएको थाहा नगरपालिकाका मेयर विष्णु विष्ट बताउँछन्।

लामो समयसम्म प्रचार/प्रसार नहुँदा मोक्षधाम छायाँमा परेको मेयर विष्टको भनाइ छ। ‘वर्षौं अघिदेखि यसको प्रवर्द्धन गर्न तदारुकता देखाउन पर्थ्यो, तर त्यो हुन सकेन,’ उनी भन्छन्, ‘अब चाहिँ यस धामको संरक्षण गरेर देशमै चिनाउनुपर्छ भन्ने उद्देश्यले थाहा नगरपालिकाले बजेट विनियोजन गरेर निर्माणकार्य गरिरहेको छ।’
थाहा नगरपालिकाले शंखमूल मोक्षधामलाई पालिकाको गौरवको योजनामा राखेको छ। नगरपालिकाले चालु आर्थिक वर्षमा ३० लाख रुपैँया विनियोजन गरेको छ भने शंख धाराका लागि १०८ जना दाताबाट नै संकलन गरेर राखिने बताइएको छ। जसका लागि स्थानीय बासन्दाले समेत सक्रियता देखाइरहेका छन्।
शंखसहित तयार गर्दा एउटा धारामा ४० हजार रुपैयाँ आकलन छ। इच्छुक व्यक्तिसँग समितिले ४० हजार रुपैयाँ रकम संकलन गरिरहेको छ। दाताहरूको चन्दाबाट निर्माण हुने धारामा सहयोगीको नाम लेखेर राखिने उपमेयर भरत गोपाली बताउँछन्।

‘गाउँपालिकाबाट विनियोजन भएको ३० लाख रुपैयाँमा अरु संरचना निर्माण भइरहेको छ। शंखधारामा सहयोग गर्न स्थानीयले पनि इच्छा देखाउनु भएको छ,’ उपमेयर गोपाली भन्छन्, ‘सोही अनुसार रकम संकलन भइरहेको छ। धर्ममा आस्था राख्नेहरूले स्वस्फूर्त रुपमा सहयोग गरिरहनु भएको छ।’
थाहा नगरपालिका-३ घट्टेचौरमा बन्न लागेको मोक्ष धाममा एउटा ठूलो शंख रहनेछ भने मन्दिर, पार्क, होम गर्ने कुण्ड, तीर्थकुण्ड निर्माण गरिने बताइएको छ। ऋषेश्वरबाट उत्तर बगेको नारायणी नदी र पश्चिम त्रिवेणीघाटबाट पूर्व बगेको संगमस्थल नै शंखमूल गंगा भएको जनविश्वास छ।



