इन्द्रसरोवरमा जडीबुटीको परिचय पुस्तिका विमोचन

पालिका डायरी
१९ चैत्र २०८२, १६:४४

हेटौंडा / मकवानपुरको इन्द्रसरोवरमा जडीबुटीको परिचय पुस्तिका विमोचन गरिएको छ । इन्द्रसरोवर गाउँपालिकामा जडीबुटीहरु पहिचान, उपयोग र संरक्षण नाम पुस्तकको विमोचन गरिएको हो । बिहीबार (आज) गाउँपालिका परिसरमा आयोतित कार्यक्रममा इन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष देवकृष्ण पुडासैनीको अध्यक्षतामा पुस्तक विमोचन भएको हो ।

सामाजिक अनुसन्धान तथा विकास केन्द्र (सगुन) संस्था र गाउँपालिकाको लागत सहभागितामा गाउँपालिका भित्र पाइने जडीबुटीहरुको अध्ययन गरेर पुस्तक प्रकाशन गरिएको सगुनका प्रतिनिधि महन्त बावु महर्जनले बताए । उनका अनुसार गाउँपालिकाभर पाइने औषधियुक्त जडीबुटीको विषयमा खोज अनुसन्धान गरिएको छ ।

सगुनका अनुसन्धानकर्ता डा.कमल फुयाँल, डा. अञ्जु कार्की, महन्त बावु महर्जन र शालिक राम डंगोलले पुस्तक लेखेका हुन् । गाउँपालिकामा पाइने बादलपाते, बढीमयल, सिस्लीगान, रुञ्चे झार, हलहले लगायत ११० प्रकारका जडीबुटीको विषयमा पुस्तक तयार पारिएको हो ।

पुस्तक विमोचन कार्यक्रममा मन्तव्य राख्दै इन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष देवकृष्ण पुडासैनीले यस पुस्तकले स्थानीय जडीबुटीको पहिचान, संरक्षण र सही उपयोगका लागि महत्वपूर्ण आधार प्रदान गर्ने बताए । जडीबुटी सम्बन्धी परम्परागत ज्ञानलाई अभिलेखमा सुरक्षित गर्नुको साथै अध्ययन अनुसन्धान गर्न प्रेरित गर्ने उनको भनाइ थियो । उनले आफ्नो गाउँपालिकामा पाइने जडीबुटीको संरक्षण र प्रवद्र्धनमा टेवा पुर्याउने गरी नीति कार्यक्रम नै बनाएर काम गरिने दाबी गरे ।

कार्यक्रममा अध्यक्ष पुडासैनी सहित गाउँपालिकाकी उपाध्यक्ष उमा कुमारी लामा, प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामा, इन्द्रसरोवर–१ का अध्यक्ष सुवास थापा मगर, २नम्बर वडाका वडा अध्यक्ष सुमन श्रेष्ठ, ३ नम्बर वडाका वडाध्यक्ष प्रताप भोम्जम, ४ नम्बर वडाध्यक्ष चन्द्रकुमार बल र ५ नम्बर वडाध्यक्ष दुतराज तितुङ लगायत वडासदस्यहरुको उपस्थिती रहेको थियो ।

गाउँपालिकाका सूचना अधिकारी दीपक चापागाईले सहजीकरण गरेको कार्यक्रमा सगुन संस्थाका प्रतिनिधिको उपस्थिती रहेको थियो । विगत ५ वर्षदेखि सगुन संस्था र इन्द्रसरोवर गाउँपालिकाको सहकार्यमा आर्युवेद तथा चिकित्सा शिक्षा कार्यक्रम कार्यान्वयनमा रहेको बताइएको छ । यस कार्यक्रमको मुख्य उदेश्य इन्द्रसरोवरमा पाइने जडीबुटीको संरक्षण गर्दै जडीबुटीको प्रयोगलाई थप सुदृढ बनाउनु रहेको प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामाले बताए ।

प्रतिक्रिया