रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता, उपसभामुख पद राप्रपालाई दिने ‘चाहना’

पालिका डायरी
२१ चैत्र २०८२, १४:५४
रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता, उपसभामुख पद राप्रपालाई दिने ‘चाहना’

उपसभामुख पद कसले पाउला भन्ने अनुमान तीव्र बनेका बेला राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले आज (शनिबार) राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई निवासमै पुगेर भेटेका छन् ।

सभापति लामिछानेसँग करिब एक घण्टा संवाद गरिएको शाहीले जानकारी दिए । ‘उहाँसँग उहाँकै निवासमा करिब १ घण्टा कुरा भयो’, उनले भने, ‘छलफल उपसभामुख पदमा कसरी अगाडि बढ्ने भन्ने विषयमा केन्द्रित थियो ।’

यस विषयमा शाहीले खुलस्त बताउन भने चाहेनन्। यद्यपि उनले ‘रवि लामिछानेको चाहना उपसभामुख राप्रपाबाट भइदियोस् भन्ने रहेको’ दाबी गरेका छन्।  भेटवार्ताको तस्बिर सार्वजनिक गर्दै शाहीले फेसबुकमा पनि लेखेका छन्, ‘विगतका दु:खहरूले हामीलाई कमजोर होइन, दृढ बनाएको छ । त्यसैले आज हामी एकजुट भएर देश बनाउने महाअभियानमा अघि बढिरहेका छौँ ।’

सभामुख पदमा भने राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद डीपी अर्याल शुक्रबार नै निर्विरोध निर्वाचित भइसकेका छन् । सभामुखमा उनको मात्र उम्मेदवारी परेकाले उनी निर्विरोध भएका हुन् ।

अब उपसभामुख पदका लागि भने यही चैत २२ गते निर्वाचन हुँदै छ । यसैबिच उपसभामुख पद श्रम संस्कृति पार्टीले पनि दाबी गरेको छ ।

प्रतिक्रिया