बिरामीलाई अस्पताल लैजाने एम्बुलेन्स भाडा आफै तिर्छु : वडाध्यक्ष कोइराला
हेटौंडा / मकवानपुरको राक्सिराङ गाउँपालिका–४ नम्बर वडाका वडाध्यक्ष संजय कोइरालाले वडाको बिरामीको लागि एम्बुलेन्स खर्च व्यक्तिगत रुपमा व्यहोर्ने बताएका छन् । सोमबार घोरकोटे स्वास्थ्य इकाइको उद्घाटन समारोहमा बोल्दै अध्यक्ष कोइरालाले वडाका नागरिक बिरामी भएर अस्पताल सम्म लान प्रयोग हुने एम्बुलेन्सको भाडा व्यक्तिगत खर्चने बताएका हुन् ।
गाउँपालिकाको एम्बुलेन्ससँग सम्झौता गरेर ४ नम्बर वडाले निःशुल्क रुपमा सञ्चालनमा ल्याएको उनले बताए । वडाका नागरिकहरु बिरामी हुँदा हेटौंडा र भरतपुर लानका लागि एम्बुलेन्सलाई मासिक रुपमा भाडाको व्यवस्थापन गरिने अध्यक्ष कोइरालाले बताए । ‘अबको दिनमा मेरो गाउँमा एम्बुलेन्स नपाएर छटपटिनु पर्ने अवस्था रहँदैन, उनले भने, ‘एम्बुलेन्सलाई तिर्ने भाडा नभएर उपचार गराउन जान नपाउने समस्याको अन्त्य भएको छ । अब वडाभर फ्रि एम्बुलेन्सको व्यवस्था गरिएको छ ।’

वडामा स्वास्थ्य ईकाइ सञ्चालनमा आएसँगै वडाबासीको लागि स्वास्थ्यउपचारमा सहजता प्रदान हुने वडाध्यक्ष कोइरालाको भनाइ छ । हाल भाडाको घरबाट स्वास्थ्य इकाइ सञ्चालनमा ल्याइएकोमा वडाको आफ्नै स्वास्थ्य इकाइ भवन निर्माणधीन रहेको छ । जसका लागि वडाध्यक्ष कोइरालाको बुवाले घोरकोटेको सडकमै रहेको १ रोपनी जग्गा दान गरिदिएको उनले जानकारी दिए । जसमा हाल पिल्डर उठाएर भवन निर्माण भैरहेको छ ।


